काठमाडौं,
वैशाख २३ ।
निजी क्षेत्रको एक छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को नेतृत्व अब अञ्जन श्रेष्ठले हाक्ने हुनुभएको छ । उहाँ महासंघको २१औँ अध्यक्ष बन्नुभएको हो । यसअघि उहाँ २०८० वैशाखमा वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।
निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले तीनवर्ष कार्यकाल पूरा गरेसँगै ६०औँ वार्षिक साधारणसभा तथा अधिवेशनले नयाँ कार्यसमितिसहित अध्यक्षको नेतृत्व श्रेष्ठले पाउनुभएको हो ।
महासंघमा यसअघि रहेको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान यो नै अन्तिम हो । तर, अब वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेपछि यो प्रावधान खारेज हुनेछ । यसपछिको अर्को कार्यसमितिमा स्वतः अध्यक्ष हुने व्यवस्था गतवर्ष नै विधान संशोधनमार्फत हटाइएको थियो ।
महासंघको संशोधित विधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्दाको कार्यकाल हालसम्मलाई तीनवर्ष रहने छ । तर, यसपछिको प्रतिस्पर्धाबाट चयन भएका अध्यक्षको कार्यकाल दुईवर्षको हुनेछ ।
यसपटक श्रेष्ठ आफू प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्नुपरेन । तर, उहाँले आफ्नो समर्थनको प्यानल खडा गर्नुभएको थियो । उहाँको प्यानलले वस्तुगत उपाध्यक्ष र केही सदस्यबाहेक सबै पदमा बर्चस्व कायम गरेको छ ।






