बन्द १२ देशमा श्रम स्वीकृति खुला

काठमाडौं,
वैशाख ८ ।

इजरायल-अमेरिका र इरानबीचको युद्धका कारण बन्द १२ देशमा श्रम स्वीकृति खुला भएको छ । २०८२ फागुन १७ गते स्थगन भएका ती देशमा श्रमस्वीकृति सोमबार पुनः खुला गरिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै साउदी, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, जोर्डन, लेबनान, यमन, टर्की र इजरायलको श्रम स्वीकृति खुला गरेको हो ।

इराकको हकमा भने २०८२ पुस ११ गते मन्त्रिपरिषदबाट भएको निर्णय बमोजिम हुने मन्त्रालयले जनाएको छ । श्रम मन्त्रालयले ती देशहरूमा व्यक्तिगत, संस्थागत र वैधानिकीकरणसहितका काम पूर्ववत् अवस्थामा हुनेगरी खुला गरेको हो ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको उच्चस्तरीय आपत्‌कालीन प्रतिकार्य कार्यदल (ईआरटी)ले खाडी तथा पश्चिम एसियाली देशमा श्रम स्वीकृति खुला गर्न सिफारिस गरेको थियो ।

परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा बसेको ईआरटीको बैठकले खाडी तथा पश्चिम एसियास्थित सबै श्रम गन्तव्य मुलुकहरू वैदेशिक रोजगारीका लागि खुला गर्ने सिफारिस गरेको हो । यसै आधारमा मन्त्रालयले श्रम स्वीकृति खुला गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार