काठमाडौं,
चैत १३ ।
चैत्र शुक्ल पक्षको नवमी तिथि । सनातन हिन्दु धर्मावलम्बीले भगवान् रामको पूजाआराधना गरी आज (शुक्रबार) रामनवमी पर्व मनाउँदै छन् । त्रेतायुगमा भगवान् विष्णुको सातौँ अवतारको रूपमा अयोध्यामा जन्मिएका श्रारीम मर्यादापुरूषका रूपमा परिचित हुनुहुन्छ । अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका रूपमा कौशल्याको गर्भबाट यही तिथिमा रामको जन्म भएको श्रीमद्भागवत महापुराण नवमस्कन्ध दशौँ अध्यायमा उल्लेख छ ।
उहाँले रावणलगायतका आसुरी शक्तिको अन्त्य गरी पृथ्वीमा शान्ति ल्याएको इतिहास पुराणमा उल्लेख छ । कर्तव्यपालनाको दृष्टान्त दिँदा राम र लोककल्याणकारी राज्यको उदाहरण दिँदा रामराज्यको उल्लेख गरिन्छ ।
त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।
रामनवमी पर्वमा रामको चरित्र वर्णन गरिएका भागवतलगायतका पुराण, रामायणलगायतका ग्रन्थ पाठ गर्ने पनि परम्परा छ । रामनवमीको अवसरमा जनकपुरक्षेत्रमा उत्सव चल्छ ।
काठमाडौंमा बत्तीसपुतली र पाशुपतक्षेत्रस्थित राममन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।






