आज इद उल फित्र पर्व मनाइँदै

काठमाडौं,
चैत ७ ।

मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन् । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् ।

आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूला बडाकहाँ गएर आशिर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ ।

इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार दान गर्छन् । जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दीन दुःखी र गरीबलाई नै दिइन्छ । आजभन्दा एक महिना अघिदेखि मुस्लिम समुदायको एक महिना लामो ब्रत (रोजा) सुरु भएको थियो ।

केही मुस्लिमले ‘इदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भई दुई रिकात नमाज पढेर सम्पन्न गर्छन् ।
नमाज पूरा गरेपछि एक-अर्कालाई अंकमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभिन्न परिकार पकाएर खाने गर्दछन् ।

रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो । यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात् ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरू ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन् ।

यसमा तपाइको मत

अन्य समाचार