काठमाडौं,
मंसिर २३ ।
गीतकार एवं चलचित्र निर्देशक तथा निर्माता डा. सुबोधकुमार पोखरेलको गीति एल्बम ‘परेली’को विमोचन गरिएको छ । सोमबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच उहाँका छवटा गीत सङ्ग्रहित एल्वम ‘परेली’ र दुईवटा गीतको भिडियो विमोचन गरिएको हो ।
वरिष्ठ चलचित्रकर्मी एवं गीतकार नीर शाह, चलचित्र पत्रकार प्रकाश सुवेदी, टेलिभिजन पत्रकार टीकाराम यात्री, गायक परियार र चलचित्र निर्माता सुनील पोखरेलले एल्वमको विमोचन गर्नुभएको थियो । डा. पोखरेलका यि गीतहरूमा दीपक शर्माको सङ्गीत तथा राजेश पायल राई, शिव परियारलगायतका गायकहरूको स्वर रहेको छ ।
सो अवसरमा वरिष्ठ चलचित्रकर्मी एवं गीतकार शाहले सङ्गीत क्षेत्रमा नवीनतम् प्रयोग नभएसम्म यसको श्रीवृद्धि हुन सक्दैन भन्नुभयो । उहाँले गीति साहित्य सरल, सुसंस्कृत साहित्य भएको बताउँदै साहित्यका अन्य विधाभन्दा गीति क्षेत्र कम सशक्त छैन भन्नुभयो ।
संविधानसभाका सदस्यसमेत रहनुभएका गीतकार डा. पोखरेलले गीतसङ्गीत क्षेत्रको विकास बिना राष्ट्रको विकास हुन नसक्ने भएकाले आफूले चिकित्सकीय क्षेत्रको अतिरिक्त चलचित्र र साङ्गीतिक क्षेत्रलाई पनि आफूले महत्व दिएको बताउनुभयो ।
कार्यक्रममा पत्रकारद्वय सुवेदी र यात्रीले साहित्य, कला र सङ्गीत बिनाको मानिस पशुतुल्य हुने बताउँदै डा. पोखरेलको गीति लेखन, चलचित्र निर्माता एवं निर्देशनको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।






