काठमाडौं,
असार २ ।
चलचित्र ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखु अनुबन्धित हुनुभएको छ । दयाहाङ राई र प्रकाश सपुतपछि ‘मिरमिरे’मा निङलेखुको प्रवेश भएको हो । सिर्जनाले यसअघि ‘कार्साङ’मा मुख्य अभिनेत्रीको भूमिका निर्वाह गर्नुभएको थियो । पहिलो चलचित्रमा पनि दयाहाङसँग सहकार्य गर्नुभएकी उहाँले दोस्रोमा पनि दयाहाङसँगै काम गर्ने हुनुभएको छ । ‘मिरमिरे’मा सिर्जनाको जोडी को हुने हो भन्ने विषयमा निर्माणपक्षले केही खुलाएको छैन ।
अन्य कलाकारको लाइनअपबारे निर्माण टिमले जानकारी दिएको छैन । तर, हालसम्मका कलाकार हेर्दा बलियो लाइनअप ‘मिरमिरे’मा देखिने निश्चित देखिएको छ । ‘मिरमिरे’लाई यम शेर्पाले निर्देशन गर्दै हुनुहुन्छ । उहाँले चलचित्र राम्रो बनाउन कलाकार र प्राविधिकको लाइनअप बलियो बनाउने सुनाउनुभयो ।
यार्सा फिल्मस्को प्रस्तुति रहने यो चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने यमले बताउनुभयो । चलचित्रको कथा पनि यमले लेख्नुभएको हो । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह-निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर र ईश्वर श्रेष्ठ हुनुहुन्छ । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मस्का सञ्चालकसमेत रहनुभएका चलचित्र वितरक रोहित कट्टेल रहनुभएको छ । ‘मिरमिरे’लाई २०८२ मा रिलिज हुनेछ । प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ ।






