काठमाडौं,
मंसिर ११ ।
गायिका तायाहाङ्मा राईले स्रोता तथा दर्शकका ‘आमा मेरी आमा’ लिएर आएकी छन् । आमाप्रति समर्पित यस भिडियोलाई तायाहाङ्माले आफ्नै यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।
विगत ८ वर्षदेखि नेपाली गीत सङ्गीतमा निरन्तर साधनारत यी गायिकाको पछिल्लो गीत ‘कोही छ’ चर्चामा आएको थियो ।
नर्सिङ पढ्दा पढ्दै गायनमा लागेकी तायाहाङले रेडियो नेपालबाट २०६७ सालमा आधुनिकतर्फ स्वर परीक्षा पास गरेकी हुन् । त्यसयता उनी निरन्तर गायनमा छन् ।
यहाँसम्म आइपुग्दा तायाहाङ्माले थुपै्र गीत गाइसकेकी छन् । तर, हालै सार्वजनिक गीत अर्थात् ‘आमा मेरी आमा’ निकै मर्मश्पर्शी तथा मनछुने छ । यस गीतको भिडियोलाई स्टुडियोमा छायांकन गरिएको भएपनि निकै सुन्दर छ ।
फरकशैलीमा निर्माण गरिएको यस भिडियोमा गायिका आफै अभिनय गरेकी छन् । सार्वजनिक गीतमा शब्द रचना तथा सङ्गीत चन्द्र लामा अनुरागको रहेको छ, जो कोरियामा छन् । छायांकन मधुर बस्नेत, सम्पादन रविन बिक र मिक्सिङ विक्रम कार्कीले गरेका छन् ।
याक इन्टरटेनमेन्टले निर्माण गरेको यस भिडियोमा गायिका तायाहाङमालाई सुन्दर बनाउने काम क्युटिसियन गौरा राईले गरेकी छन् । यो गीत ‘संगीत अनुराग’ एल्बममा संग्रहित रहेको छ ।






