मिलाप/काठमाडौं
चैत २८ ।
ठूलो भएपछि के बन्ने भनेर बालबालिकालाई सोध्यो भने उनीहरुले के उत्तर देलान् ? निश्चय नै उनीहरुको उत्तर हुनेछ– डाक्टर, इन्जिनियर, पाइलट, सीए, बिजनेसम्यान आदि । तर, २०३३ साल पुस १९ गते प्युठानको गुरीगाउँमा जन्मिनुभएका जोगेन्द्र के.सी.को रूचि भने नृत्यमा थियो । जति बेला उहाँले नृत्यलाई आफ्नो प्यासन बनाउनुभयो, त्यति बेला नृत्यको स्कोप आजको जस्तो थिएन । नृत्य सिक्ने उहाँका सहपाठीमध्ये एक हुनुहुन्थ्यो, नेपाली चलचित्र क्षेत्रका चर्चित नायक दिलिप रायमाझी । उहाँहरु एक-अर्कालाई मितज्यू भन्नुहुन्थ्यो । दिलिप रायमाझीले चलचित्रको रङ्गीन दुनियाँ रोज्नुभयो । तर, जोगेन्द्र के.सी.को रहर भने भिन्नै थियो । उहाँ नेपालको लोक संस्कृति र लोकनृत्यप्रति स–साना बालबालिकामा हराउँदै गएको वितृष्णा जगाउन चाहनुहुन्थ्यो । त्यसैले उहाँ विद्यालयका बालबालिकालाई नृत्य सिकाउने अभियानमा जुट्नुभयो ।

त्यही अभियानका कारण थुप्रै विद्यालय, कलेज, विभिन्न प्रशिक्षण केन्द्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरममा नृत्य प्रशिक्षकको रुपमा काम गरिरहनुभएको छ उहाँले यति बेला । उहाँले साकेला, झिँझिँया, धिमे, कौडा, देउडा, गौरा, झर्रा, हुड्केली, कुमारी, मञ्जुश्री, लाखेजस्ता विभिन्न जाति र समुदायमा प्रचलित लोक तथा शास्त्रीय नृत्य बालबालिकादेखि लिएर प्रोफेसनलरुपमा सिक्न आउने नृत्यका पारखी विद्यार्थीहरु र नेपाली नृत्य सिक्न खोज्ने विदेशीहरुलाई समेत प्रशिक्षित गरिरहनुभएको छ । यसरी उहाँले आम नृत्यपारखीमा नृत्यप्रतिको मोह पैदा गर्न महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ । नेपाली लोक संस्कृतिप्रति मोह जगाउनु भनेको लामो पुस्ता यसप्रति आकर्षित हुनु हो भन्ने उहाँको धारणा छ ।
कुनै पनि नागरिकको पहिचान भनेको ऊ जन्मेको देशसँग गाँसिएको हुन्छ । देशको पहिचान त्यहाँको धर्म, संस्कृति, भाषा, वेशभूषा, रहनसहन र लोक परम्परासँग जोडिएको हुन्छ । लोकसंस्कृति नै जोगाउन सकिएन भने नेपालीको मौलिक पहिचान हराएर जान्छ । यस्तै मान्यता राख्नुहुने जोगेन्द्र के.सी. देशको संस्कृतिलाई नेपालमा मात्र नभएर विदेशसम्म चिनाउने अभियानमा जुटिरहनुभएको छ । त्यसका लागि उहाँ नेपाल लोक सांस्कृतिक प्रतिष्ठान, नेपाल फोक लोरिक फाउन्डेसन, एभरेस्ट नेपाल कल्चर ग्रुप, इन्टरनेसनल अर्गनाइजेसन अफ फोक आर्टजस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा आबद्ध हुनुहुन्छ । यिनै संस्थाका माध्यमबाट नेपाली कला र संस्कृतिलाई चिनाउने कार्यक्रम लिएर उहाँ जापान, दुबई, कतार, थाइल्याण्ड, भारत, टर्की, ग्रिस, जर्मनी, फ्रान्स, पोल्याण्ड, बेल्जियम, स्पेन, स्विट्जरल्याण्डलगायत दुई दर्जनभन्दा बढी देशमा आफू र आफ्नो संस्थालाई सहभागी बनाएर नेपाल र नेपाली संस्कृतिलाई सांस्कृतिक दूतका रुपमा काम गर्दै नेपालको झण्डा विश्वको सांस्कृतिक मेला महोत्सवहरुमा फहराउन सफल भइराख्नुभएको छ । यस्ता कार्यले आफूलाई गौरवान्ति गर्ने गरेको उहाँ सुनाउनुहुन्छ ।

यसरी कला संस्कृतिका माध्यमबाट नेपाललाई विदेशी भूमिसम्म चिनाउन भूमिका खेलेकै कारण उहाँले जनसेवा पञ्चश्री पदक, दशककालीन सेवा पदक, न्यू सृष्टि दैनिक कला संस्कृति पुरस्कार, सेकेण्ड स्टार इन्टरनेसनल अवार्ड, बेस्ट अमेरिकन कोरियोग्राफ अफ द इयर, थर्ड नेपाल फेसन एण्ड म्युजिक बेस्ट कोरियोग्राफी अवार्ड, राष्ट्रिय विलक्षण प्रतिभा सम्मान, बहुमुखी प्रतिभा सम्मान, दशककालीन शिक्षा सेवा सम्मान, दीर्घकालीन सेवा पदकजस्ता दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत तथा विभूषित हुनुहुन्छ ।
विभिन्न रियालिटी सोको निर्णायक भएर, थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा आबद्ध भएर, विभिन्न सामाजिक तथा शैक्षिक संस्थामा आबद्ध भएर नेपाली लोक संस्कृतिको जगेर्ना र विस्तार गरेर जोगेन्द्र के.सी.ले आफ्ना पिता कालीबहादुर के.सी. र माता कमलादेवीको मुहारमा मात्र खुसी ल्याउनुभएको छैन, नेपाल आमाको गरिमालाई पनि थप उच्च पार्नुभएको छ । नृत्यकै माध्यमबाट उहाँले जति यति धेरै यश, मान-सम्मान र प्रतिष्ठा कमैले प्राप्त गरेका छन् । उहाँ नृत्य क्षेत्रमा सर्वाधिक कमाइ गर्ने व्यक्तिका रुपमा पनि परिचित हुनुहुन्छ । धेरै कलाकार यो क्षेत्रमा आउने-जाने क्रम छँदैछ तर के.सी.ले सुरूवातदेखि अहिलेसम्म तीन दशकको अवधिमा पछाडि फर्किएर हेर्नुपरेको छैन । उहाँ निरन्तरको लगाव, मिहिनेत, त्याग, समर्पणले यो स्थान प्राप्त गर्न सफल हुनुभएको हो । कहिल्यै पनि उहाँले यो क्षेत्रबाट कति पैसा कमाइ हुन्छ भनेर सोच्नुभएन, निरन्तर नृत्यमा नै आफूलाई संलग्न गराउनुभयो । नृत्य नै सबैथोक हो भनेर यसैमा आफूलाई हरसमय तल्लीन बनाइरहनुभयो । उहाँ जीवनको अन्तिम श्वाससम्म पनि आफू यही क्षेत्रमा समर्पित रहँदै स्टेजमै नृत्य प्रस्तुत गर्दागर्दै अन्तिम श्वास लिने चाह राख्नुहुन्छ ।
नृत्यलाई आफ्नो जीवनको लक्ष्य बनाउने हरेकका लागि जोगेन्द्र के.सी. प्रेरणाका स्रोत बन्न सक्नुहुन्छ । उहाँले आफ्ना लागि मात्र नभएर देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन जुन कार्य गर्दै आउनुभएको छ, त्यो स्तुत्य छ । नेपाली कला संस्कृतिको संरक्षण, सम्वद्र्धन र यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारमा उहाँले पुर्याएको योगदान अतुलनीय छ । त्यसैले त उहाँ सबैका प्रिय हुनुहुन्छ । नृत्यमार्फत उहाँले देश विदेशमा ख्यातिप्राप्त गर्नुभएको छ । आफ्ना प्रस्तुति लिएर सांस्कृतिक दूतका रुपमा आफूलाई प्रस्तुत गर्दै आउनुभएका जोगेन्द्रका कार्य निकै प्रशंसनीय र अनुकरणीय रहेका छन् । देशमा हुने विभिन्न कार्यक्रम, स्कुल-कलेजमा उहाँको खोजी र विदेशमा पनि उत्तिकै मागले व्यस्ततालिकामा आफूलाई हिँडाइरहनुभएका जोगेन्द्र यसै क्षेत्रका लागि जन्मिएका एक धरोहरका रुपमा स्थापित हुनुहुन्छ र उहाँले सबैतिर आफ्नो वर्चश्व स्थापित गर्नुभएको छ ।

विदेशमा पनि नेपाली कला- संस्कृतिलाई चिनाउन उहाँले धेरै कार्य गर्नुभएको छ
– राजु शाह, वरिष्ठ नृत्य निर्देशक
जोगेन्द्र के.सी.लाई म वि.सं. २०५१ सालदेखि चिन्छु । त्यति बेला मेरो राजश्री डान्स सेन्टरमा प्रशिक्षार्थीका रुपमा उहाँ आउनुभएको थियो । त्यहाँ भएका राम्रा प्रशिक्षार्थीमध्ये उहाँ पनि हुनुहुन्थ्यो । उहाँको लगाव, नृत्यप्रतिको जुनुन एक खालको थियो । यो क्षेत्रमा केही गर्ने जुनुन थियो उहाँमा । त्यही जुनुनले अहिले सफलताको शिखर चुमेको देख्छु म । जो मान्छे मिहिनेती, लगनशील, इमान्दारितापूर्वक आफ्नो कार्यमा लाग्छ, त्यसले सफलता प्राप्त गरेको देखिन्छ । योगेन्द्रमा पनि यी सबै भएका कारण आज उहाँ सफलताको शिखर चुम्न सफल भएको म ठान्छु । उहाँमा आफ्नो केही नयाँपन थियो र त्यही नयाँपनले उहाँलाई सफलता दिलाएको हो, जसले गर्दा विभिन्न मान, सम्मान, पुरस्कार प्राप्त भएको छ उहाँलाई । विदेशमा पनि नेपाली कला–संस्कृतिलाई चिनाउने उहाँले धेरै कार्य गर्नुभएको छ । यो एकदम खुसीको कुरा हो ।
उहाँ जति प्रतिभाशाली कलाकार नेपालमा कमै भएको पाउँछु म
– शंकर बी.सी., नृत्य निर्देशक
जोगेन्द्र के.सी. आफैँमा एक विशिष्ट नृत्य निर्देशक हुनुहुन्छ । म आज शंकर बी.सी. भइरहँदा उहाँको पनि मलाई धेरै साथ–सहयोग रहेको छ । साधना कला केन्द्रले पहिलोपल्ट नृत्य प्रतियोगिता गर्दा जोगेन्द्र के.सी.कै नृत्य निर्देशमा नाचेका थियौं । नेपाली नृत्य निर्देशनमा उहाँको धेरै ठूलो योगदान रहेको छ । नेपालमा सबैभन्दा धेरै चेला उहाँकै होलान् । नेपाली चलचित्रमा पनि उहाँको धेरै योगदान छ । उहाँलाई म नेपाली नृत्यमा एक्स्ट्रा अर्डिनरी ट्यालेन्ट भएको व्यक्तिका रुपमा लिन्छु । उहाँका हरेक प्रस्तुति वाह भन्ने हुन्छन् । नेपाली नृत्य क्षेत्रमा रहेर उहाँले आर्थिकरुपमा पनि आफूलाई सबल बनाउनुभएको छ । नेपाली कला–संस्कृतिलाई विदेशमा चिनाउनु उहाँको धेरै ठूलो योगदान रहेको छ । सधैं हसिलो र सरल व्यवहार देखाउनुहुने उहाँबाट धेरै कुरा सिक्न सकिन्छ । म आज शंकर बी.सी. बन्नुमा पनि उहाँको धेरै ठूलो हात रहेको छ । उहाँबाट अझ धेरै कुरा सिक्न बाँकी नै छ । उहाँ जति प्रतिभाशाली कलाकार नेपालमा कमै भएको पाउँछु म । अहिले म यूएसमा छु तर म नेपाल आएपछि उहाँसँग सहकार्य गर्ने मन छ ।

कलाकारितामा लगेर बाँच्न गाह्रो छ भन्नेहरुका लागि उदाहरणीय नाम हो जोगेन्द्र के.सी.
-आरसी कोइराला, अध्यक्ष
तीन दशकदेखि नृत्य विधामा समर्पित के.सी. एक सफल नृत्य निर्देशक हुनुहुन्छ । सुरूवाती दिनहरुमा सबैलाई यो पेसा किन अँगाले, किन अरू पेसामा लागिन होला भन्ने जोगेन्द्रलाई पनि भएको थियो तर निरन्तरको परिश्रम र अभ्यासले गर्दा आज नयाँ पुस्ताका लागि उदाहरणीय व्यक्ति बन्न सफल हुनुभएको छ । नृत्यकारको रुपमा यस क्षेत्रमा होमिनुभएका जोगेन्द्र अहिले एक सफल व्यावसायिक नृत्य निर्देशकका रुपमा आफूलाई स्थापित गर्नुभएको छ । तीन दशकदेखिको निरन्तर परिश्रमले गर्दा आज विभिन्न सङ्घ-संस्थाले के.सी.लाई संस्थामा आबद्ध गराउन चाहन्छन् । उहाँ दर्जनौं सङ्घ–संस्थामा पहिल्यै नै आबद्ध पनि हुनुहुन्छ ।
के.सी. नेपालमा मात्र होइन, विदेशमा जहाँ पुग्नुहुन्छ त्यहीँ आफ्नो छाप छोड्न निपूर्ण हुनुहुन्छ । त्यसैले त विदेशका विभिन्न स्थानमा हुने कार्यक्रममा उहाँको खोजी हुन थालेको छ । उहाँ अहिले अन्तर्राष्ट्रिय जगत्मा आफ्नो कोरियोग्राफीमार्फत परिचित हुन्हुन्छ । विश्वका तीन दर्जनभन्दा बढी देशमा आफूले गरेको कोरियोग्राफीमार्फत कलाकारको प्रस्तुति दिनुभएको छ उहाँले । सुरूवाती दिनहरुमा विभिन्न स्कुल–कलेजमा नृत्य प्रशिक्षण गरेर आफ्नो गुजारा चलाउने के.सी. अहिले सफल नृत्य निर्देशक हुँदा चलचित्र, म्युजिक भिडियोलगायत सयौं कलाकारलाई एकैपटक स्टेजमा उतार्न माहिर हुनुहुन्छ । उहाँको कोरियोग्राफी देखेर नेपालका राजनेताहरु पनि मन्त्रमुग्ध हुन्छन् भने अन्तर्राष्ट्रिय जगत्ले पनि प्रशंसा गरेका छन् । मैले थाहा पाएअनुसार, उहाँले कोरियोग्राफी गरेका नृत्यहरुले विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु प्राप्त गरेका छन् भने यो पेसा जोकोहिले पनि अँगाल्न सक्छन् तर निरन्तर परिश्रम र अभ्यासको उति नै खाँचो रहन्छ भन्ने कुरामा दुईमत छैन भन्ने उदाहरण के.सी. हुनुहुन्छ ।
(मिलापको फागुन अङ्क)






