✍️ डा. डीआर उपाध्याय खनाल
काठमाडौं,
फागुन १७ ।
नेकपा एमाले सरकारबाट बाहिरिएको छ । र, उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । राष्ट्रपतिको चुनावको बिषयलाई लिएर एमालेले यस्तो निर्णय लिन बाध्य भएको हो । अब मुलुकको राजनीति के हुन्छ ? प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने पक्का भएपछि एमाले सरकारबाट बिच्किएको हो । १० पुसमा एमाले र दाहालबीच भएको भद्र सहमती कार्यान्वयन हुन नसकेको र दाहालले बीचमा धोका दिएको एमालेको आरोप छ ।
पुष्पकमल दाहाल अस्थिर स्वभावका ब्यक्ति हुन् भन्ने कुरा त बेला बेलामा उठ्ने गर्छनै । प्रचण्डले एमालेलाई बीचमानै धोका दिन्छन् भन्ने मलाई लागेको थियो, त्यही भयो । राष्ट्रिय सहमती कायम गर्ने भन्दै प्रचण्डले नेपाली कांग्रेसलाई राष्ट्रपति बनाउन काँध थापेर बसेका छन् । राष्ट्रपतिको चुनावको लागि नेपाली कांग्रेसको तर्फबाट बरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुबासचन्द्र नेम्वाङ भिड्दै छन् ।
राजनीतिक दलहरू आफनो स्वार्थ पूरा हुने भयो भने मिल्छन् जव स्वार्थ पूरा हुने नदेखेपछि फुटछन् । यस्तो गलत संस्कार परिपार्टीले नेपालको राजनीति फोहोरी बनेको छ । फोहोरी राजनीतिले मुलुकलाई निकास दिन सक्दैन भन्ने कुरा त सबैलाई थाहा छ । यति हुँदाहुँदै पनि राजनीतिक दलहरू सुध्रने कोसिस गर्दैनन् । अब मुलुकको राजनीति अस्थिरतातर्फ गयो । आलोपालो सरकारमा जाने र सरकार भत्काउने खेल बाहेक यो पाँच बर्षभित्र अरु नहुने सङ्केत देखियो । मुलुकलाई बर्वाद गर्न दलहरू तम्सिएका छन् । यो गलत बाटोबाट दलहरू सही ठाउँमा उभिनु पर्छ । एमालेले देशलाई स्थिर र बिकासको बाटोमा लान खोजेको हो भने सरकारबाट बाहिरिनु हुँदैनथ्यो । यो गलत काम गरेको छ । देश र जनताको भविष्यप्रति खेलवाड गर्ने काम कुनै दलहरूले गर्नुहुँदैन ।
नेकपा माओवादीले त बेला बेलामा कहिले कांग्रेसलाई कहिले एमालेलाई धोका दिँदै आएको छ । यो पार्टी त्यही भएर जनताको नजरमा गिर्दै गएको छ । यसको पक्षमा जनमत घट्दै छ, बढ्दो छैन । राजनीतिमा इमान हुनुपर्छ । माओवादीमा इमान भन्ने देखिएन । राष्ट्रपतीय निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने भन्दै प्रचण्डले एकाएक एमालेलाई धोका दिएको कुरा चर्चामा छ ।
प्रचण्डले सुरुमा नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउँछु भन्ने सहमतिबाट आफैं भागेका थिए । त्यतिबेलाको सन्दर्भले अहिले पनि झस्काउँछ । कमरेड प्रचण्ड (नेकपा माओवादीका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल) वचनको पक्का छैनन् । कोही भर नपरे हुन्छ । सहमति विपरीत गिरिजाबाबुलाई राष्ट्रपतिमा सहयोग नगरी रामराजाप्रसाद सिंहलाई उठाएका थिए । आखिर गिरिजाबाबुलाई पन्छाउन खोज्दा र गिरिजाबाबुकै उम्मेदवार डा. रामवरण यादवले राष्ट्रपति जित्नु परेको थियो । उनले आफैंले गरेको सहमति विपरीत जुन कदम चालेका थिए, त्यो कदम र अहिले बालकोटमा गरेको सहमतिमा पनि कामरेडको ठ्याक्कै त्यस्तै प्रवृत्ति र भय दोहोरिएको देखिन्छ ।
प्रचण्ड अहिले केपी ओलीसँग गरेको सहमतिबाट पछि हटेका छन् । यता नेकपा एमालेले पनि राष्ट्रपतिको उम्मेदवार उठाउँदा पार्टीको आवश्यक बहुमत नभएको यो परिस्थितिमा केही कुरामा विचार गर्नै पर्ने देखिन्छ । सबैभन्दा ठूलो कुरा देश र जनता हुन् । देश र जनताको भविष्यलाई अन्धकारमा धकेलेर सत्ता स्वार्थको राजनीति गर्नु ठूलो बेइमानी हो । जनताले यो कुरा पटक्कै मन पराएका छैनन् । आम जनताले के चाहेका छन् भने सबै राजनीतिक दलहरू मिलुन र देशको भविष्य बनाउन् भन्ने छ । तर, राजनीतिक दलहरू र तिनका नेताहरू खाली बेइमानको राजनीति मात्र गरिरहेका छन् । यसरी मुलुकको भविष्य बनाउन सकिँदैन । नेपाली राजनीतिमा नैतिकता हुनु जरुरी छ । नैतिकता विनाको राजनीतिले हामीलाई कहाँ पुर्याउला ?






