युवा जनप्रतिनिधि विराट विष्ट पाँच वर्षअघि वैदेशिक रोजगारीमा थिए । उनले फर्केर स्वदेश आएपछि समाजसेवा गर्ने इच्छा प्रकट गरे । उनलाई उनको काम गराइको ऊर्जा, विचार र सोच सही लागेर नेकपा एमालेले बर्दिबास नगरपालिका वडा नं.-३ मा वडा अध्यक्षको टिकट दियो । जसमा उनी युवाहरूको साथ र सहयोग पाएर सजिलै विजय हासिल गरे । अरूभन्दा केही पृथक काम गर्न रुचाउने विष्टलाई हामीले उनको पाँच वर्षे कार्यकाल र भावी योजनाका बारेमा लेखक/पत्रकार पेशल आचार्यका साथमा स्थानीय स्तरमा सहजकर्ता उद्धव अविचलमार्फत् यक्ष प्रश्न सोधेका छौं । प्रस्तुत छ-विष्टको जवाफ जस्ताको तस्तै :-
वैदेशिक रोजगारीबाट आएर समाजसेवामा अझ जनप्रतिनिधि नै हुने विचार कहाँबाट आयो यहाँलाई ? यो सेवामा आफूले समाजलाई के दिने सोच राख्नु भएको छ ?
वैदेशिक रोजगार छोडेर आफ्नै ठाउँमा समाजसेवा गर्ने उद्देश्यले हिँड्दाहिँड्दै मेरो कामबाट प्रभावित भएर स्थानीय पार्टी र युवाहरूको साथ सहयोगले जन निर्वाचित प्रतिनिधि बन्न सफल भएँ । समाजमा व्याप्त राजनैतिक विसंगति, सामाजिक विकृति, जनप्रतिनिधिको गलत प्रवृत्तिका कारणले राजनीतिलाई समय सुधारकको भूमिकामा रुपान्तरणका लागि राजनीतिमा आएको एक निडर र अटल सिँपाही हूँ । यो सेवामा लागेर निष्पक्ष रूपमा सबै क्षेत्र, धर्म, लिङ्ग, जातजाति र संस्कृति गाउँमा विकास निर्माण गराएर सुन्दर र समृद्ध वडा बनाउने इच्छा रहेको छ ।
लोकप्रिय कामहरू जुन तपाईंले गरिरहनु भएको छ ती गर्नका लागि प्रेरणा कहाँबाट पाउनु भयो ? विस्तारमा बताइदिनुहोस् न ?
उत्तर ः मैले जुन लोकप्रिय कामहरू गरिरहेको छु । त्यस्को प्रेरणा सर्वप्रथम त विगतमा निर्वाचित जनप्रतिनिधिले जनतामाथि गरेको भेद्भाव र व्यवहारका कारण नै हो । दोस्रोमा पार्टी र साथीभाइहरू नै हुन् । साथै यो समाजलाई आवश्यक समय सुहाउने प्रकृतिका अत्यावश्यक तत्व हो । यसमा प्रेरणा दिने तिनै नागरिक हुन् अनि समयानुकूल परिवेश समेत हो ।
वैदेशिक रोजगारमा जान खोज्ने युवाहरूलाई यहीँ नेपालमै रोकेर केही नयाँ र सिर्जनात्मक कामहरू गराउने योजनाहरू केही छन् कि ?
उत्तर ः विदेशमा जान खोज्ने युवाहरूलाई रोक्नका लागि जनचेतना र व्यवसायमूलक कार्य गर्न प्रोत्साहन दिन नवीन सोच राखेको छु । हुन त म एक पात्र मात्र हूँ । राज्यले लिएको नीतिलाई मैले मेरो योजना भन्न मिल्दैन तथापि ती युवाहरूलाई स्वरोजगार हुन आफूले जानेको सीप र समय यही आफ्नै ठाउँमा प्रयोग गरी आय आर्जनमा सहभागी हुन मैले सकेको सहयोग गर्ने नै छु तर यो योजना मेरो होइन, राज्यको हो । राज्य र नागरिकको बिचमा मैले गर्नुपर्ने गर्ने नै छु ।
नेपाली जनप्रतिनिधिहरूमा कोकोबाट प्रभावित हुनुहुन्छ ? यहाँको वडाले यो पाँच वर्षमा केके नयाँ कामहरू गर्ने योजना बनाएको छ ? तिनीहरू विस्तारमा राखिदिनुहोस् न ।
म कम्युनिष्ट विचार धारासँग अभिप्रेरित एक सिपाही हो । तर अहिलेको परिवेशमा स्वतन्त्रबाट निर्वाचितमध्ये हर्क साम्पाङ र गोपाल हमालको कार्यशैली ठिक लाग्छ भने मैले नाम लिनै पर्ने प्रतिनिधिहरूमा भक्तपुर नगरपालिकाका प्रमुख ज्यूलाई सम्झिन्छु । उहाँले विकासको नयाँ मोडल नै स्थापित गरिदिनु भयो । राज्यसँग मैले मेरो क्षेत्रका नागरिकका लागि आवश्यक जे छ त्यही माग्ने हो । समय अहिले परिवर्तित छ । परिवर्तनको चाहना अनि समयानुकूल विकासका कार्यहरू गर्दै मैले पाएको ५ वर्ष प्रत्यक्ष जनताले अनुभूति र प्रष्ट किसिमले देखिने साथै महसुस गरिने विराटले गरेको काम भनेर ५० वर्षसम्म सम्झिने खालको विकास गर्न चाहन्छु ।
तपाईंका यी जनउत्तरदायी कामहरूले अबको पाँच वर्ष पछिको राजनीतिक यात्रा नगरपालिकाको मेयरमा उठ्ने भन्ने सुनिन्छ ? के यो साँचो हो त ?
म जनताको सेवा गर्न अनि बेथिति विसंगतिमुक्त राजनैतिक संस्कारलाई जनप्रतिनिधिको भूमिका, समाज सुधारक समाजकै सहयोगीको रूपमा रूपान्तरण गर्नका लागि राजनीतिको बाटोमा अएको एक व्यक्ति हूँ । मैले जादुमय कार्य गर्न वा अरूलाई देखाउन केही गरेको होइन तर राज्यले दिएको अधिकार प्रयोग गरेर उपलब्ध स्रोत र साधनको सही सदुपयोग गर्दछु । अब जीवनभर जनताकै सेवा गर्छु । म मन परे जनताले आफ्नो कुरा राख्लान् तर अबको ५ वर्ष पछिको राजनैतिक यात्रा नगरको प्रमुख बन्ने छैन तर ढोका बन्द पनि गरेको छैन ।
अति व्यस्त समयका बाबजुद् पनि यक्ष प्रश्नमा सामेल भई आफ्ना विचार र भावनाहरू बताउनु भयो । यस संवार्तामा हामीले सोध्न बिर्सेका तर यहाँले भन्नै पर्ने केही थिए कि ?
व्यक्तिको रूप, रङ्ग हेरेर व्यक्तिलाई चिन्न सकिँदो रहेनछ । सकेसम्म यो पाँच वर्ष भित्रमा कसैले पनि मेरो काममा, व्यवहारमा खोट लगाउने ठाउँ दिन्न भन्ने मेरो प्रतीज्ञा छ ।
त्यस्तो केही छैन । यहाँ त आफू इमान्दार बन्नु पर्छ । राज्यप्रति बफादार र नागरिकको समस्याप्रति जहिल्यै दायित्व बोध गर्ने सोच र सामथ्र्य राख्नुपर्छ । मलाई मेरो कामप्रति कोही कसैलाई गुनासो भए सुधार्ने मौका दिनुस् । म यो अध्यक्ष दैनिक जीवनयापनको लागि भएको होइन बेथिति, विकृति तथा विसंगतिको विरुद्ध राजनैतिक संस्कार रूपान्तरण गरी जनप्रतिनिधि अहिले पनि समाज सुधारक बन्नुपर्छ । आफ्नो कामप्रति इमान्दार अनि दायित्व र अधिकारको समयानुकूल प्रयोग गर्नुपर्छ । जहिले पनि समाजमा आफूले गरेका वाचा बिर्सनु हुँदैन र मैले बिर्सने छैन भन्ने मेरो प्रतिबद्धता दोहोर्याउँछु ।
हजुरहरूले मेरो विचार चर्चित मिलाप अनलाइनमार्फत् जनतासामु पुर्याइदिनु भएकोमा पुनः हार्दिक धन्यवाद् दिन चाहन्छु ।






