‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि किरण गजमेरलाई

काठमाडौं,
साउन २४ ।

गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि किरण गजमेरले चुम्नु भएको छ । भूटानी शरणार्थीका रुपमा झापाको खुदुनाबारीबाट पुनर्वासका क्रममा अमेरिका पुग्नुभएका गजमेरले ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि जित्न सफल हुनुभएको हो ।

उत्कृष्ट चारमा पुगेका अन्य तीन प्रतिस्पर्धी आर्यन राई, ज्वाला राई र तरा श्रीष मगरलाई पछि पार्दै सर्वाधिक भोटका आधारमा उहाँले उपाधि जित्न सफल हुनुभएको हो । उपाधिसँगै किरणले २५ लाख रुपैयाँ पनि जित्नुभएको छ । उहाँ टिम प्रमोदबाट उत्कृष्ट चारमा पुग्नु भएको थियो ।

यसअघि भ्वाइस अफ नेपालको पहिलो सिजनको उपाधि प्रमोदकै टिमका सिडी विजय अधिकारीले जित्नुभएको थियो । दोस्रो सिजनको उपाधि राम लिम्बुले जित्नुभएको थियो ।

किरणले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबैलाई धन्यवाद दिनुभयो । यो रियालिटी शो हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदै आएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार