काठमाडौं,
साउन १४ ।
नेपाल सरकारले चलचित्रकर्मीहरूलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य मन्त्रालयले फिल्मकर्मीलाई खोप लगाउन प्रबन्ध मिलाउने लिखित प्रतिबद्धता जनाएपछि चलचित्र कलाकार संघले फिल्मकर्मीलाई आफ्नो विवरण पठाउन आग्रह गरेको छ । खोप लगाउन चाहने इच्छुक फिल्मकर्मीले यही साउन १३ गतेभित्र आफ्नो विवरण पठाउनुपर्ने संघले जनाएको छ ।
१८ देखि ४९ वर्ष र ५० वर्षभन्दा माथिका चलचित्रकर्मीको छुट्टाछुट्टै विवरण भरेर पठाउन चलचित्र निर्देशक समाज, प्राविधिक संघ, द्वन्द्व निर्देशक समाज, निर्माता संघ, नेपाल चलचित्र संघलगायतका संघसंस्थालाई पत्राचार गरिएको कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताउनुभयो । केही दिनमै जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गरेर खोप केन्द्र तोकिने उहाँको भनाइ छ ।
समयमै खोप आयात भएमा साउन १६ र १७ गते खोप लगाउने स्वास्थ्य मन्त्रालयसँग सहमति भएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार तीन हजार फिल्मकर्मीले खोप लगाउने अपेक्षा गरिएको छ । खोप लगाएपछि स्वास्थ्य मापदण्डको पालना गर्दै चलचित्रका गतिविधि सुचारु गर्न सकिने उहाँले बताउनुभएको छ ।
केही दिनअघि निर्देशक तथा निर्माता श्रीदेव बी.एल.को नेतृत्वमा कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, मोहन निरौला, भुवन केसी, धिरेन शाक्य, गोविन्द शाहीलगायतले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरेर चलचित्रकर्मीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गर्नुभएको थियो । मन्त्री शर्माले पनि चाँडै फिल्मकर्मीलाई खोपको व्यवस्था गर्ने आश्वासन दिनुभएको थियो ।






