काठमाडौं,
असार ३० ।
नेपाल चलचित्र कलाकार संघको अग्रसरतामा नेपाल महिला रेस्लिङ फाउण्डेसनकी संस्थापक अध्यक्ष तथा कलाकार भगवती खडकालाई मंगलबार संघको कार्यालयमा आयाजित एक कार्यक्रममा अध्यक्ष रबीन्द्र खड्काले आर्थिक सहयोग हस्तानतरण गर्नुभएको छ । कलाकार तथा रेस्लर खड्कालाई २३ हजार रुपैयाँ सहयोग गरिएको हो ।
नेपालको पहिलो महिला रेस्लर तथा फाउण्डेसनकी अध्यक्ष भगवती खड्का कोभिडको दोस्रो भेरियन्टबाट पिडित हुनु भएको थियो भने उहाँको संस्थासँग आवद्ध ४०–४५ जना महिला रेस्लरहरूलाई निषेधाज्ञाको समयमा उहाँले नै राहत तथा आर्थिक सहयोग गर्नुपरेको थियो ।
आफू कोभिडबाट पिडित भएको र महिला रेस्लरलाई सहयोगसमेत गर्नु परेको अवस्था उल्लेख गरी संघमा सहयोगको अनुरोध गर्नु भएकाले संघले नेदरल्यान्डमा रहनु भएकी अभिनेत्री वर्षा खडकाबाट सात हजार पाँच सय, समाजसेवी बिक्रम खड्काबाट पाँच हजार पाँच सय, नेपाल चलचित्र कलाकार संघ यूके शाखाको तर्फबाट पाँच हजार तथा संघकी कार्यकारिणी सदस्य तेजुला खतिवडाबाट पाँच हजार गरी जम्मा २३ हजार रुपैयाँ भगवती खड्कालाई प्रदान गरिएको हो ।
उक्त कार्यक्रममा संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, नेपाल चलचित्र कलाकार संघ यूके शाखाका उपाध्यक्ष सुरेश पाठक, कार्य समितिका सदस्य जीवन थापा, कलाकार राजु शाही, समाजसेवी विक्रम खडका लगायतको उपस्थिति रहेको थियो ।
सहयोग रकम प्रदान गर्दै अध्यक्ष रवीन्द्र खडकाले महिला रेस्लर भगवतीले रेसलिन्न तथा कलाकारिताको माध्यमबाट पुर्याउनु भएको योगदानको चर्चा गर्दै राष्ट्रिय प्रतिभाहरूलाई सरकारले संरक्षण तथा प्रोत्साहन गर्नुपर्ने तर कहीँ कतैबाट सहयोग नभएको तथ्य औल्याउँदै प्रोत्साहनका लागि उहाँलाई सहयोग गरिदिन सबैमा अपिल पनि गर्नु भएको संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।






