✍️ शैलेजा कटुवाल
काठमाडौं,
जेठ १० ।
तुलसी सबैको घरमा पाइने बहुमुल्य जडीबुटी हो । जडिबुटीनै औषधिको सबैभन्दा महत्त्वपूर्ण स्रोत हो । तुलसी वैदिक काल अर्थात हजारौं वर्ष पहिला (परापूर्व काल) देखिनै संसारभरी प्रयोग हुँदै आएको छ । तुलसीलाई धार्मिक रुपमा हिन्दूहरूले पुज्दै आएको बिरुवा हो ।
हामीमध्ये कतिपयलाई तुलसी पूजापाठका लागि मात्र प्रयोग नभई यो एक औषधिय प्रयोगका लागि अमृत समान पनि हो भनी थाहा नहुन सक्छ । तुलसीको बारेमा विभिन्न वेद तथा शास्त्रहरूमा पनि उल्लेख पाइन्छ । जस्तैः अथर्ववेद, चरक संहिता आदिमा यसको प्रशस्त वर्णन पाइन्छ । साथै हामीले तुलसीको विभिन्न प्रकार पाउन सक्दछौ ।
तुलसीको सम्पूर्ण भाग हामी औषधिय रुपमा प्रयोग गर्न सक्दछौ । यसलाई हामी विभिन्न रुपमा प्रयोग गर्न सक्छौ औषधिको रुपमा यसको सबै पार्ट (पञ्चाङ्ग) प्रयिग गरिन्छ ।
काढाः तुलसीलाई पानीमा राम्ररी केही समय उमाली छानेर प्रयोग गर्न सकिन्छ ।
स्वरसः हरियो द्रव्यलाई (तुलसीलाई) सिलौटामा पिसेर प्राप्त गरेको कल्कलार्इ निचोरेर सफा कपडामा छानेर प्रयोग गर्ने ।
चुर्णः द्रव्यलाई (तुलसीलाई) सुकाएर त्यसलाई पिसेर धुलो बनाइ प्रयोग गर्न सक्दछौ ।
तुलसीमा भिटामिन ‘सी’, एन्टिअक्सिडेन्ट, एन्टिसेप्टिक र एन्टिभाइरल गुणहरू पाइन्छ । यो भाइरल इम्फेक्सन जस्तैः रुघा, खोकी, ज्वरमा प्रयोग गर्न सकिन्छ । यसका साथै तुलसीले एन्टिभाइरस, एन्टिब्याक्टेरियल र एन्टिफङगल विरुद्ध पनि कामगर्छ र रोग प्रतिरोधात्मक शक्तिको पनि वृद्धि गर्छ ।
तुलसीले आँखाको समस्या, छालाको समस्या, दाँतको समस्यालगायत विभिन्न समस्याबाट जोगाउछ । अझ भन्नुपर्दा हालको समस्या कोरोनाको लक्षणसँग मिल्दोजुल्दो लक्षण ज्वर, श्वास, कासमा तुलसीको प्रयोगले अमृत समान काम गर्दछ । तुलसीलाई चियाको रुपमा पनि प्रयोग गर्न सकिन्छ । तुलसीको प्रयोगले शरीरमा कुनै किसिमको हानी पुर्याउदैन अझ यसले शारिरका सवै प्रणालीमा फाइदानै पुर्याउछ ।
आयुर्वेद एक औषधिय विज्ञान मात्र नभई जीवन जिउने पद्धति वा आधार भएकाले आयुर्वेदलाई प्रोत्साहन गरौ र रोगवाट निर्मुक्त भइ आजिवन स्वस्थ जीवन यापन गरौ ।
जय आयुर्वेद ! ! (लेखकः पतंजलि आयुर्वेद मेडिकल कलेजमा अध्ययनरत हुनुहुन्छ ।)






