कोरोनाको त्रास र यसबाट बच्ने केही हाम्रो संस्कार तथा आयुर्वेदका उपाय

✍️ सुमन सत्याल
काठमाडौं,
जेठ ७ ।

कोरोनाको दोस्रो कहर शुरु हुन नपाउँदै सरकारले आफ्नो तुच्छ लाचारीपना देखाएर सारा नेपालीलाई निराश गराएको छ, कोरोनाको रोगीका कारणले भरिभराउ भएको अस्पतालमा अरु कुनै सामान्य रोग लागेर उपचार गराउन जाने बिरामीले समेत उपचार नपाउने अवस्था आईसकेको छ भने कोरोनाले आफ्नो उच्चतम विन्दु निकै माथि पुर्‍याउने लक्षण देखाईरहेको छ । सरकारले टावर र मैदानका नाममा अरबौ खर्च गर्दा सरकारलाई किन महशुस भएर यि भन्दा अत्यावश्यक कामहरू बाँकी हुँदाहुँदै फजुल खर्चमा सरकार लाग्नुहुँदैन भन्ने कुरा । संसारमा पहिलोचोटी कोरोना देखिदा सारा विश्वनै आक्रान्त बनिरहेको अवस्थामा नेपालको अवस्था अति सामान्य थियो तर सरकारले त्यसको मौका उठाएर अस्पताल बनाएर स्वास्थ्यको क्षेत्रमा नयाँ आयाम थप्नुपर्नेमा कानमा तेल हालेर बस्यो अझ प्रधानमन्त्री स्वयंबाट विज्ञको परामर्शविनै बेसार पानी, तातो पानी, अम्बाको पात जस्ता कुरा गरेर बिताउनुभयो ।

अझै पनि समय बाँकी छ र अवस्था जटिलतातर्फ अघि बढिरहे पनि समय बितिनैसकेको भने छैन, सरकारले इच्छाशक्ति देखाएर आजकै मितिबाट द्रुत गतिमा निर्माण हुनसक्ने किसिमका फलाम आदिका आधुनिक प्रविधियुक्त भवन बनाई प्रत्येक जिल्लामा आवश्यकता अनुसार एक हजार बेडदेखि अस्पताल बनाउन सुरु गर्ने हो भने बढिमा एक महिनाभित्र निर्माणनै गर्न सकिन्छ । योतर्फ सरकारले सोचेर अघि बढ्नुपर्ने देखिन्छ । सरकारले नै हात उठाएपछि जनताले कसमाथि आशा राख्ने ? सरकारले बुद्धिमानी पूर्वक जनतालाई मार्गनिर्देश गर्नुपर्दछ । हाम्रो पूर्विय दर्शन, सभ्यता,आयुर्वेद, जडिबुटि, प्राकृतिक चिकित्सा, योग, ध्यानमा सबल रहेको हुनाले अरु देशको जस्तो आधुनिक औषधि कहिले बन्ला भनेर मुख ताकेर बस्नुपर्ने बाध्यता मात्र त छैन नि ! यो विषयका विज्ञसँग बसेर अति सरल रुपमा सरकार अघि बढ्नुपर्छ । हामीले आफ्नो तर्फबाट हुनसक्ने सावधानि अपनाएर आफ्नो र परिवारको सुरक्षाका साथै सरकारलाई सहयोगी भूमिका निर्वाह गर्न सहज र कोरोनाविरुद्ध प्रतिरोधि बन्नुपर्ने देखिन्छ त्यसको लागि निम्न उपाय अपनाउनु उत्तम देखिन्छ ।

– आयुर्वेदले सबैभन्दा बढि महत्वपूर्ण दिएको आम अवस्था हुन दिनुहुँदैन आम भन्नाले पेटमा खाना बढि खाएर वा नपचेर बसेको खराब तत्व हो जसले गर्दा कोरोना मात्रै नभई जुनसुकै रोग चाडै लाग्न सक्छ । त्यसैले लघु आहार, दाल (मुंग वा रहर नमिसाई), भात, गँहुको रोटी, हरिया तरकारी आदि दुई छाक र भोक लागेमा मात्र खाजा खाने जसमा सुजीको हलुवा, जाउलो आदि लिन सकिन्छ जुन कुरा चाडै पचेर निराम अवस्थामा रहनको लागि मद्दत गर्दछ ।

–पानीमा अदुवा, मोथे, गुर्जो, हालेर एक लिटरमा पाँच ग्राम जति राखेर दिनभर आवश्यकता अनुसार पिउने

–चियापत्तिको रुपमा घरेलु जडिबुटिहरूको प्रयोग गर्न सकिन्छ, तुलसी, कागती, ल्वाङ्ग, मरिच, पिप्ला, बेसार, अलैचि, दालचिनी आदि । यस्ता जडिबुटिको प्रयोगले पाचन प्रणाली दुरुस्त लाग्छ र पेटबाट उत्पन्न हुने ज्वरो लगायतका रोग लाग्न दिदैन भने श्वासप्रश्वासमार्ग पनि सफा गर्दछ ।

–दिनचर्याको पालन गर्ने, सूर्योदय हुने एक घण्टा अगाडि उठ्ने, दिसापिसाब गरेपछि दाँत माझ्ने, नाकमा तोरीको तेल दुई थोपा दुबै नाकमा हाल्ने, जिउमा तेलले मालिस गर्ने, व्यायाम वा योग अभ्यास, प्राणायाम गर्ने र स्नान अनि मात्र भोजन गर्ने ।

– हाल कोरोनाका बिरामीमा श्वासप्रश्वास सम्बन्धि समस्या बढि देखिएकाले योग अभ्यास गर्दा श्वासप्रश्वासलाई सहज गराउने किसिमका अभ्यासहरू जस्तैः भुजंगाशन, मत्स्याशन, पवन मुक्ताशन, सबै किसिमका प्राणायम र समय पुगेसम्म अन्य आशनहरूमा जोडदिनुपर्दछ ।

– सुत्ने दुई घण्टा अगाडिनै हलुका भोजन गर्ने, राति रोटिको साट्टो भात खाने, रोटी भात भन्दा गुरु हुने भएकाले बिहानको भोजनमा रोटीको सेवन गर्नुपर्दछ ।

– दिनको केही मिनेटदेखि ध्यान शुरु गर्ने र समय सकेसम्म आधा देखि एक घण्टासम्म बढाउँदै लाने ।

– घरबाट अनावश्यक बाहिर ननिस्कने, निस्कदा अनिवार्य सावधानि अपनाउने, मास्क आदि प्रयोग गर्ने उपयुक्त विधि राम्रोसँग सिक्ने र अनावश्यक फोहोर हातले खोल्ने बन्द गर्ने गरिनरहने ।

– स्यानिटाईजरको भन्दा साबुन पानीको प्रयोग बढी गर्ने, स्यानिटाईजर प्रयोग गरेर खानु त्यति उपयुक्त हैन ।

– दिनमा खालि समयमा बिल्कुलै सुत्नुहुँदैन, परिवारसँग रमाईलो कुराकानी, बच्चाहरूसँग खेल खेल्ने, करेसाबारी हुनेले काम गर्न सकिन्छ भने अन्यले उर्जाशिल किसिमका क्रियाकलापमा लाग्नुपर्दछ, जतिबेला पनि मोबाईल, टिभी, समचार मात्र हेर्दा पनि अनावश्यक तनाव सिर्जना हुन्छ त्यसैले लेख लेख्ने, उपन्यास, कथा, कविताहरू पढ्ने लेख्ने गर्नु उत्तम हुन्छ ।

– यस्तो बेलालाई अवसरको रुपमा लिएर घरमा अनिवार्य रुपमा जडिबुटिहरुको विरुवा लगाऔं, अनावश्यक रुपमा घरको शोभाको रुपमा अनेक काँडा र अन्य रुप, रस, गन्धबिनाका फूलहरूले घरलाई भरिभराउ बनाउनुभन्दा विभिन्न गुुर्जो, तुलसी, पुदिना, जेठिमधु, अश्वगन्धा, भृंगराज, असुरो लगायतका थुप्रै जडिबुटिहरू लगाउने बानि बसालेमा बेलाबखत सेवन गर्न पनि पाइने र स्वास्थ्य पनि राम्रो हुने साथै आफूभन्दा पछाडिको पुस्तालाई पनि ज्ञान हुने किसिमका कर्महरूमा लाग्नु अत्यन्त जरुरी छ । मझेरीको असुरोको पात टिप्न छोडेर कयौँ दुष्प्रभाववाला औषधिको लागि अस्पताल धाएर सेवन गर्नु हामी प्राकृतिक स्रोत साधन र जडिबुटिले धनि मानिएका नेपालीहरूलाई थोरै पनि सुहाउने कुरा हैन ।

– सरसफाईको कुरा, दैनिक स्नानको कुरा, बाहिर घुमेर आएपछि नुहाउने, हात खुट्टा धोएर मात्र भित्र छिर्ने भन्ने संस्कार बिर्सिएको अवस्थामा यस्तै रोगहरूले सम्झाईदिने काम भने भएको छ ।

– हाम्रा नयाँ पुस्तालाई हाम्रो संस्कार, सभ्यता, वैदिक ज्ञान दिनु अत्यन्त जरुरी छ, जबसम्म हाम्रो पुस्ता आधुनिक शिक्षाको नाममा मौलिक संस्कारबाट संस्कारित हुँदैनन् तबसम्म देशको भविष्य सबल होला भनेर सोच्नु पनि मूर्खता हो ।

लेखक: हाल पतञ्जली आयुर्वेद मेडिकल कलेजमा आयुर्वेद चिकित्सा अध्ययनरत हनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार