नेपाल पत्रकार महासंघको २६औं महाधिवेसन अन्तर्गत आज देशभर एकसाथ निर्वाचन

काठमाडौं,
चैत २५ ।

नेपाल पत्रकार महासंघको २६औं महाधिवेसनअन्तर्गत आज काठमाडौं उपत्यका लगायत देशभर एकसाथ निर्वाचन हुँदैछ । नेतृत्व चुन्न देशैभर एकसाथ प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचन गर्न लागिएको हो ।

केन्द्रीय, प्रदेश, जिल्ला र सम्बन्धित शाखाहरूको नेतृत्व चयनका लागि महासंघले एकसाथ मतदानको व्यवस्था मिलाएको छ । देशभरका करिब एक सय मतदान केन्द्रमा महासंघका १३ हजार सदस्यले मत दिने व्यवस्था मिलाइएको केन्द्रीय निर्वाचन समितिका संयोजक कपिल काफ्ले बताउनुभयो ।

महासंघको केन्द्रीय समितिको ४९ पदाधिकारीका लागि मतदान हुनेछ भने प्रदेश र शाखाहरूले पनि आ-आफ्ना समिति निर्माणका लागि निर्वाचन गराउने छन् । निर्वाचनमा १३ हजार १२२ मतदाताले मताधिकार प्रयोग गर्न पाउने छन् ।

महासंघको नयाँ नेतृत्वका लागि विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित चुनावी मैदानमा हुनुहुन्छ भने गजेन्द्र बुढाथोकी महासंघमा शुद्धीकरणको नारासहित चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।

प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारका रुपमा पोखरेल, प्रेस चौतारी (ओली समूह) सहितको गठबन्धनको उम्मेदवारको रुपमा शर्मा र स्वतन्त्र रुपमा अध्यक्ष पदका लागि बुढाथोकी मैदानमा हुनुहुन्छ ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा माधव नेपाल र रमेश विष्ट प्रतिष्पर्धामा रहँदा समावेशी उपाध्यक्षमा उदय जीएम, अवधेश झा र मोहनकुमार सिंह चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी प्रतिष्पर्धा गर्दा महासचिवमा रोशन पुरी, बालकृष्ण बस्नेत र सुवोध गौतम भिड्दै छन् ।

विहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म मत दिने व्यवस्था मिलाइएको छ भने मतदानका लागि कुनै आधिकारिक परिचय पत्र वा नागरिकता चाहिने व्यवस्था गरिएको संयोजक काफ्ले बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार