काठमाडौं,
माघ १९ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको उल्लेख गरेको छ । काठमाडौंको आजको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजे काठमाडौंको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस मापन गरिएको हो ।
तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । अधिकांश जिल्लामा अपराह्नदेखि दिउँसो २ बजेसम्म हुस्सु हटे पनि केही जिल्लामा भने साँझसम्म रहने सम्भावना रहेको जनाइएको छ ।
तराईमा बाक्लो हुस्सु लागेका कारण सवारी साधान सञ्चालनमा कठिनाइ हुँदै आएको छ । कतिपय विमानस्थलमा न्यून भिजिविलिटीका कारण हवाई यातायातसेवा समेत प्रभावित हुँदै आएको छ ।
हाल प्रदेश नं. १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आशिंक बदली रहेको छ र तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । देशका अन्य बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, प्रदेश नं. १ र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
यसैगरी, आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको को उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।






