✍️ गीता अधिकारी
काठमाडौं,
कार्तिक २८ ।
हरि उप्रेती नेपाली साहित्य तथा गीत, सङ्गीतको क्षेत्रमा समर्पित र स्थापित नाम हो । वि.सं. २०३४ सालमा माता डम्बरकुमारी उप्रेती र बुवा गणेश उप्रेतीको कोखबाट भुटानमा जन्मिएका उनी नेपाली भाषी हुन् । आफूभित्र रहेको साहित्य र कलाको बीउले उनलाई कुत्कुत्याइरह्योे । त्यही प्रतिभालाई अङ्कुरित गराउन सानैदेखि उनका हातहरु कलम समाउनतर्फ सोझिए । चञ्चले तर धारिलो बुद्धि भएका उप्रेतीमा भाषा, साहित्य तथा संस्कृतिप्रतिको लगाव बाल्यकालदेखि नै लोभलाग्दो थियो । सन् १९९० तिर भुटानी शासकको विषालु हतियारले नेपाली भाषी भुटानीमाथि हस्तक्षेप गर्न थालेपछि १२ वर्षको उमेरमै जन्मभूमिबाट लखेटिनुपर्यो । बालककालमै अनुदार सत्ता र शासकको हेलाबाट गुज्रिएका अधिकांश नेपाली भाषी भुटानीहरु नेपालमा शरण पर्न आए । सोही क्रममा उनको परिवार पनि मोरङ जिल्लामा आएर गुजारा चलाउन थाल्यो ।

बिनाकसुर भुटानी सरकारबाट हजारौँ परिवार मिल्काइएपछि उनको कलिलो मानसपटलमा पनि त्यसको गहिरो धक्का टाँसिन पुग्यो । उनका अधिकांश सिर्जनामा बाल्यकालमा भोग्नुपरेका पीडा, कष्ट र दुःखको अनुहार देख्न सकिन्छ । नियतीले जीवनको प्रारम्भमै कहालीलाग्दा उतारचढाव र दुःखका हुण्डरीहरु थमाइदिएपछि उनको बालसुलभता त्यसै दबिन पुग्यो । सानैदेखि दुःखलाई आत्मसात् गरेर निरन्तर सफलताको खोजीमा प्रयत्न गरिरहे । कठिन र सङ्घर्षमय जीवनको गोरेटोसँग जुध्दै उनले आफ्नो अध्ययनलाई भने निरन्तरता दिए । विद्यालय पढ्दादेखि नै जिज्ञासु र मिहिनेती स्वभावका उनलाई सफलताको भोक जागिरह्यो । कोरा किताबी पढाइमा मात्र होइन विद्यालयका अतिरिक्त क्रियाकलापमा पनि उनले आफूलाई सहभागी गराउँदै गए । विभिन्न प्रतियोगितामा सफलताले पाइला टेक्न थालेपछि उनी मिहिनेततर्फ अझै बढी उत्प्रेरित बने र आफूलाई अझै तिखार्नतर्फ तल्लीन भए । आफूभित्रको विशेष प्रतिभालाई उनले चिने र त्यसैलाई फक्राउन आफूलाई बहुविधामा जोडे र जितका कोसेलीहरु पनि हात पार्न थाले । शिक्षक तथा साथीभाइहरु पनि उनीभित्रको बहुआयामिक प्रतिभाले चकित हुन्थे र निरन्तर ढाडस दिइरहन्थे ।
नेपालमा लगभग १८ वर्षसम्म शरणार्थी जीवन बिताएका सर्जक तथा गीतकार उप्रेतीले स्नातकोत्तरसम्मको उच्च शिक्षा हासिल गरी विभिन्न विद्यालय तथा कलेजमा अध्यापनसमेत गर्न भ्याएका थिए । बुवाआमाको पहिलो सन्तान भएका कारणले पनि उनमा पारिवारिक जिम्मेवारीको भारीसमेत थियो । शरणार्थी जीवन बिताउँदै गर्दा आयस्रोत नभएकाले कहिलेकाहीँ कापी नभएर केराको पातमा लेख्नुपरेको तीता क्षणहरु पनि गीतकार उपे्रती सुनाउँछन् । सिक्ने क्षमताको कमी नभए पनि आर्थिक सङ्कट र गरिबीले भने उनलाई पछारिरह्यो । लामो समयसम्मको कष्टकर जीवन बिताएपछि पुनर्वासको क्रममा सन् २००९ मा उनी संयुक्त राज्य अमेरिकातर्फ छिरे ।

अमेरिका पुगेपछि आर्थिक दुरावस्था, गरिबी र अभावबाट त केही मुक्ति मिल्यो तर जन्मभूमि र कर्मभूमि छाड्नुपर्दाको पीडाले भने उप्रेतीलाई निरन्तर लखेटिरह्यो । आफ्नो भाषा, संस्कृति र कलाप्रतिको मोह उनीभित्र झन् गाढा बन्दै गयो, फैलिँदै गयो । परिस्थिति बाध्यताले नेपाल छाड्नुपरे पनि आफ्नो भाषा, कला र संस्कृतिको अनुरागले भने उनलाई तान्न छाडेन । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवद्र्धन र श्रीवृद्धि गर्नका उनी सधैँ जुट्न थाले । समाजका लागि आफूले सकेको केही न केही योगदान गर्नैपर्छ भन्ने हुटहुटी बोकेका उप्रेती केही नगरी बस्नै सकेनन् । अन्ततोगत्वा पुनर्वासको सुरूदेखि नै आफ्नो समाजको उत्थान र भाषाको संरक्षणमा प्रभावकारी पहल गर्न थाले । ग्लोबल भुटानिज कम्युनिटी अफ कोलोराडो नामक सामाजिक सङ्गठनको स्थापना गरी उनले असहाय र दीन-दुःखीको सेवामा आफूलाई निरन्तर समर्पित गराए । त्यसका साथमै गीत–सङ्गीत, कला अनि साहित्यलाई प्राथमिकतामा राखेर कलम लम्काइरहे । दुई दशकदेखि भाषा, साहित्यमा योगदान दिन थालेका सर्जक उप्रेतीले पछिल्लो एक दशकदेखि गीत-सङ्गीत र कलालाई अझ सशक्त बनाएर अगाडि बढाउन थाले । यसै क्रममा गीतकार तथा समाजसेवी उप्रेतीले सन् २०१६ मा पहिलो गीतिएल्बम ‘करूणा’ बजारमा ल्याए । उक्त एल्बमको अपार सफलतापछि चलचित्रकर्मी र निर्माताहरुको नजर पनि उनको शब्द सिर्जनातिर पर्न थाल्यो । उनको प्रतिभाको सार्वजनिक रुपमै प्रकट भएपछि क्रमशः निर्माता तथा निर्देशकहरुले विभिन्न चलचित्रमा गीत लेख्न अनुरोध गर्न थाले । हालसम्म उप्रेतीले दर्जनौँ चलचित्रका गीत लेखिसकेका छन् भने चलचित्र निर्माणमा समेत हात हालेका छन् ।
उनको यो मिहिनेतले मूल्य पनि पायो । गीत-सङ्गीत र चलचित्र क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उत्कृष्ट गीतकारको रुपमा विभिन्न अवार्ड थापिसकेका छन् । नेसनल पावर न्युज म्युजिक अवार्ड, खुम्बु खोल्सस्च ग्लोबल नेपाली फिल्म अवार्ड, सातौं म्युजिक खबर म्युजिक अवार्ड, ग्लोबल नेपाली फिल्म अवार्ड, ग्लोबल नेपाली फिल्म मिडिया एन्ड सोसल अवार्ड, योङ माइन्ड्स इन्टरटेनमेन्ट म्युजिक अवार्ड, नेसनल बक्स अफिस म्युजिक अवार्ड हात पारिसकेका छन् । यसका अलावा काठमाडौंमा शान्ति इन्टरटेनमेन्टको स्थापना गरी त्यसमार्फत् नेपालका विभिन्न ठाउँमा दीन-दुःखीलाई जाडोमा न्यानो कपडालगायत केही ठाउँमा निःशुल्क स्वास्थ्य सेवासमेत प्रदान गरेका छन् । यो सेवा प्रदान गरेपश्चात् गीतकार, चलचित्रकर्मी तथा समाजसेवी उप्रेतीले प्रभुनारायण चौधरी फाउन्डेसन नेपालले राष्ट्रिय सम्मानसमेत प्रदान गरेको छ ।

अनेकौं दुःख, सङ्घर्ष र हुण्डरी भोगिसकेका सर्जक उप्रेतीको काममा परिवारले पनि सधैँ हात समाउँदै आएको छ । आफूलाई यहाँसम्म पुर्याउन जीवनसङ्गिनी राधिका उप्रेती र दुई छोरीहरु लीला उप्रेती र लक्ष्मी उप्रेतीले पनि ठूलो साथ दिएको उनको भनाइ छ । उप्रेती आफ्ना परिवारप्रति सधैँ आभारी रहेको बताउँछन् ।
नेपाली कला, संस्कृति, वेशभूषा, रहनसहनलाई अति नै माया गर्ने गीतकार उप्रेती अहिले गीत-सङ्गीत तथा साहित्यको माध्यमबाट नेपाली कला-संस्कृतिको भकारीलाई अझ समृद्ध बनाउने बाटोमा प्रयत्नशील छन् । सरल, हंसमुखी र अति नै मिलनसार स्वभावका वरिष्ठ गीतकार उप्रेतीलाई एक बहुआयामिक प्रतिभाशाली, भर्सटाइल गीतकार भन्न सकिन्छ । साँच्चै उनमा हरेक प्रकारको गीत लेख्न सक्ने खुबी छ । त्यसैले त उनी भन्छन्- ‘गीत-सङ्गीत मेरो प्राण हो, सङ्गीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ । नेपाली सङ्गीत भनेको हाम्रो सम्पत्ति हो, संस्कृति हो, त्यसैले हामीले यसलाई संरक्षण र प्रवद्र्धन गर्नु हाम्रो कर्तव्य हो र नेपाली साँगीतिक क्षेत्र तथा गीत-सङ्गीतको स्तरलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउनु पनि हाम्रो दायित्व हो । नेपालको मोरङ हुँदै अमेरिका पुगेर गीत-सङ्गीत तथा साहित्यको आकाशमा छुट्टै पहिचान बनाउन सफल उप्रेती गीतसाहित्यका धरोहर बनिसकेका छन् । करिब एक दशकदेखि गीत, गजल तथा कविता लेखनमा सक्रियताका साथ लागेका उप्रेतीले दर्जनौँ लोकप्रिय गीत लेखेका छन् । उनको गीतमा नेपालका ख्यातिप्राप्त गायक-गायिकाले स्वर भरिसकेका छन् भने सुप्रसिद्ध सङ्गीतकारहरुले मिठो सङ्गीतका आलापहरु रेटिसकेका छन् ।
गीतकार उप्रेतीले विभिन्न सातवटा उत्कृष्ट गीतकारका अवार्डसमेत हात पारिसकेका छन् । आधुनिक, पप, लोक, चलचित्रका गीत तथा भजनसमेत लेख्नमा पोख्त गीतकार उप्रेतीले १२ वटा नेपाली चलचित्रका गीतमा शब्द कोरिसकेका छन् ।
साहित्यका बहुविधामा आफूलाई अब्बल प्रमाणित गरिसकेका उनको विराट प्रतिभा उदाहरणीयमात्र होइन अनुशरणीय पनि छ । मुक्तक, गजल र कविताको सङ्ग्रहित अडियो बुक ‘मनका तरेलीहरु’समेत प्रकाशित गरिसकेका उनले चलचित्र तथा डकुमेन्ट्री फिल्म निर्माण गरेका छन् । वर्तमान अवस्थामा अमेरिकामै रहेर विशेषतः नेपाली गीत–सङ्गीतको उत्थानका लागि काठमाडौंस्थित पुतलीसडकमा मिरा पौडेल तथा गायक लोक पौडेलद्वारा निर्मित मिरा साउन्ड रेकर्डिङ स्टुडियोको अध्यक्षता गरिरहेका छन् । वरिष्ठ सङ्गीतकार विकास चौधरीद्वारा सञ्चालित सो स्टुडियोमा दैनिक दर्जनाँैै गीत रेकर्ड भइरहेका छन् । यसै क्रममा आफ्नो दोस्रो गीतिएल्बम करूणा-२ समेत चाँडै बजारमा ल्याउन लागेका छन् । उनी भन्छन्, ‘मेरो प्राण रहेसम्म गीत, सङ्गीत, कला र साहित्यलाई छोड्ने छैन ।’

पाइलापाइलामा चुनौती र समस्याका पहाडहरु, अभाव र गरिबीका खाडलहरुबाट सुरू भएको उनको सुरूवाती जीवनयात्रा कत्ति पनि सहज थिएन । जन्मँदै दुःखको जङ्घारबाट सुरू भएको उनको बाटोमा हजारौँ तगाराहरु भेटिए, कैयौँ बिघ्नबाधा र कठिनाइहरु खडा भए । तर, उनीभित्रको विश्वास, धैर्यता, मिहिनेत र विशिष्ट प्रतिभाले उनले अवरोधहरुलाई पन्छाउँदै अघि बढे । आफू र आफ्नो परिवारको दुःख, कष्ट र पीडाबाट थिचिएर पनि त्यसलाई कुशलतापूर्वक पार लगाउँदै समाज र देशका लागिसमेत उनले आफूलाई सार्थक साबित गरेका छन् । गीत, सङ्गीत र साहित्यप्रतिको अनुरागले उनलाई विचलित बनाएन र निरन्तर त्यसको सेवामा जुटे । अहिले उनको व्यक्तित्व फैलिएको छ । उनका गीतमा स्वदेशी माटोको सुगन्ध मगमगाउँछ । आधुनिकताका नाममा भित्रिएका विदेशी कला, संस्कृति र भाषाको हस्तक्षेपले उनको मन बाउँडिन्छ । नेपाली भाषा, कला, संस्कृतिमा आएको मौलिकताको विचलनले उनलाई सधैँ चिमोटिरहन्छ । आधुनिकतालाई सहस्र स्वीकार्दै मौलिकताको प्राणरक्षा गर्नुपर्ने कलागत मान्यता हो । उनी भन्छन्– ‘जनसङ्ख्या र भूगोलले मात्रै देश हुँदैन भाषा, कला, संस्कृतिले नै त्यसको प्राण भर्ने काम गर्छ । विकास र समृद्धिले मात्र देशको पहिचान नहुने भएकाले भाषा, कला, संस्कृतिले नै देशको पहिचान जोगाउँछ । उडन्ते कल्पना र स्वच्छन्द रचनाभन्दा जीवनको वास्तविक धरातलमा ओर्लिएर साहित्य सङ्गीत रचना गर्नुपर्छ भन्ने मान्यता राख्ने उप्रेतीका रचनामा जीवनको यथार्थता झल्किन्छ । उनका रचनामा समसामयिक युग, जीवन र परिवेशको चित्र उतारिएको छ । वास्तवमा उप्रेतीले स्रोता तथा पाठकलाई ख्याल गरेर आफ्ना कलाको जन्म दिन्छन् ।
सङ्घर्षको पट्यारलाग्दो क्षणबाट गुज्रिएर जीवनको उचाई भेट्टाउन सफल वरिष्ठ सर्जक हरि उप्रेती नयाँ उदीयमान प्रतिभाका समेत प्रेरणाका स्रोत हुन् । जस्तोसुकै कठिन परिस्थितिलाई पनि धैर्यता र परिश्रमको छडीले वशमा राख्न सकिन्छ भन्ने कुरालाई उनले प्रमाणित गरिसकेका छन् । देश छाडे पनि आफ्नो, माटो, भाषा, संस्कृति र कलाको माया अनन्त रहिरहन्छ र देशका लागि योगदान गर्न जहाँ बसे पनि सम्भव हुन्छ भन्ने कुरा उनको जीवनबाट पढ्न र अनुभव गर्न सकिन्छ । उनले नेपाली गीत, सङ्गीत र कला क्षेत्रको विकासमा थपेको ईंट्टाले यसको भकारी अझै बढेको छ । यस्ता वरिष्ठ सर्जक, गीतकार, चलचित्रकर्मी तथा समाजसेवी हरि उप्रेतीलाई आगामी दिनहरुमा अझै सफलता मिलोस् । गीत, सङ्गीतको क्षेत्रमा उप्रेतीभित्रको प्रतिभाको भेल यसरी नै बगिरहोस् हाम्रो पनि शुभकामना ।
(मिलापको कार्तिक अङ्कबाट)






