काठमाडौं,
साउन ९ ।
काठमाडौंको सीतापाइलामा बिहीबार बेलुका ८ बजेतिर ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार गर्ने दुई जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा र काठमाडौं परिसरको टोलीले अनुसन्धान गरेर एसिड प्रहार गर्ने दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये एकजना रौतहटका र अर्का भारतीय नागरिक रहेको खुलेको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा रौतहटका मोहम्मद आलमले पवित्रा कार्कीलाई एकातर्फी मन पराउँथे । उनले बिहीबार बेलुका पनि ३० भन्दा बढी पटक फोन गरेको पाइएको छ । तर, युवतीले उनको फोनको बेवास्ता गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
एसिड प्रहार गर्ने भारतीय नागरिक मोहम्मद मुन्नाले आफूलाई केही जानकारी नभएको बयान दिएका छन् ।
‘मलाई साहुले केही पैसा दिन्छु भनेर काम लगाएको थियो, त्यसपछि मैले बोतलमा लगेर एसिड हानेको हुँ ।’ प्रहरीका अनुसार मुन्ना र मोहम्मद राति नै भारततर्फ जाने तयारीमा थिए । सीसीटीभी फुटेजका आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो । युवतीको घर नजिक मोटरसाइकलमा लगेर मुन्नालाई साहुले राखेका थिए ।






