बेलबारी-३, करमडाँडा, मोरङमा जम्नघर भई हाल काठमाडौंलाई कर्मथलो बनाएर साहित्य सिर्जनामा लागिपरेका छन् साहित्यकार डम्बर बिकेल । नेपाली विषयमा दर्शनाचार्य (एम.फिल) सम्मको अध्ययन गरेका उनी अध्यापन पेशमा संलग्न रही आफ्ना साहित्यिक रचना स्रोता-पाठकमाझ पस्किरहेका छन् । साहित्य सिर्जनामार्फत् विभिन्न पुरस्कार तथा सम्मानसमेत प्राप्त गरेका उनले गीत, कविता र गजलका साथै स्क्रिप्ट लेखनका क्षेत्रमा कलम चलाएका छन् । उनले विभिन्न टेलिसिरियलहरुमा अभिनय गर्नुका साथै रेडियो तथा अनलाइन टिभीमा कार्यक्रमहरु सञ्चालनसमेत गर्दै आएका छन् । बिकेलको प्रकाशोन्मुख कृति फूलको भुल (गीतसङ्ग्रह) I MISS YOU ( Lyrics Collection) रहेका छन् । स्रष्टा बिकेलसँग मिलापका लागि कृष्ण भुसालले गरेको कुराकानीः-
पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
वर्तमान समयमा कोरोना भाइरसको कारणले विश्व आतङ्कित भइरहेका बेला कोरोनाबाट बँच्नका लागि घरमै बसिरहेको छु । साथै, नेपाली साहित्यको अध्ययन गरिरहेको छु । अनि समय सान्दर्भिक रचनाहरु सिर्जना गर्ने कार्य गरिरहेको छु ।
साहित्यमा तपाईंको बढी रुचिको विषय के हो ?
साहित्यका विविध विधाहरु मन पर्छन् । प्रायः सबै विधाहरु अध्ययन गर्न रुचाउँछु । तर, लेखनका दृष्टिले भने म बढी गीत लेख्न रुचाउँछु । गीतमा पनि बढी हास्यगीत लेखन मेरो क्षेत्र हो ।
जीवन के हो ?
जीवन भनेको जन्मदेखि मृत्युसम्मको समयावधि हो, जहाँ सुख र दुःखको मिश्रण हुन्छ, आरोह–अवरोह सामना गर्नुपर्ने हुन्छ । सङ्घर्ष गरी बाँच्नु नै जीवन हो ।
गीतलाई कसरी परिभाषित गर्नुहुन्छ ?
मेरो विचारमा विशेषतः गाउनका निम्ति रचिएको लयात्मक तथा सुललित पद्यरचना नै गीत हो, जहाँ जीवन र जगतको बारेमा अमूर्त चित्रण गरिएको हुन्छ ।
तपाईं कसका लागि लेख्नुहुन्छ ?
मैले लेख्ने भनेको सम्पूर्ण पाठक, स्रोता तथा दर्शकका लागि नै हो । साथै, मेरो आत्मसन्तुष्टिका लागि पनि लेख्छु ।
कहिलेदेखि लेख्न सुरु गर्नुभयो ?
लेखनको कार्य त सानै छँदादेखि नै जानी-नजानी भएको रहेछ । तर, औपचारिकरुपमा भने २०४९ सालबाट हास्यलेखनबाट सुरु भई २०५२ सालमा पहिलो ‘मेरो प्यारो झुपडी’ शीर्षकको कविता प्रकाशन भयो अनि २०५९ सालमा मेरो पहिलो गीत ‘ए होई मेरी तीतेकरेली’ हास्यगीत रेकर्ड भयो ।
तपाईंले लेख्ने गीतको आधार के हो ?
मेरा गीतका आधारहरु प्रायः नवरस नै हुन् । तथापि, बढी मेरा गीतहरु हास्यरसका छन् । हास्यरसमा आधारित भएर सिर्जित मेरा गीतहरुले जीवन र जगतलाई चित्रण गरेका छन् । केही काल्पनिक भए तापनि मेरा प्रायः गीतहरु यथार्थवादी छन् । साथै, केही गीतहरु उत्तरआधुनिकतातिर पनि लम्किएका छन् ।
अहिलेको नेपाली गीत-सङ्गीतको अवस्था कस्तो पाउनुहुन्छ ?
हिजोभन्दा आज धेरै सर्जकहरुको जन्म भएको छ र धेरै गीतहरु पनि आइरहेका छन् । धेरै गीतहरु सिर्जना हुनु राम्रो पनि हो । तर, हाल आइरहेका गीतहरुमा गुणात्मकता कम छ जस्तो लाग्छ । त्यसैले, परिमाणात्मकतातिरभन्दा गुणात्मकतातिर ध्यान दिनुपर्छ जस्तो लाग्छ । पहिलेभन्दा अहिले गीतकार, सङ्गीतकार तथा गायक र गायिकाको पनि मिहिनेत कम भए जस्तो देखिन्छ तर पनि केही गीतहरु राम्रा आइरहेका छन् ।
तपाईं गीतमा कत्तिको कुतर्क गर्नुहुन्छ ?
म मेरा गीतमा कुनै पनि किसिमका कुतर्कहरु गर्न चाहन्न । सधैं तर्कसहित गीत सिर्जना गर्ने कोसिस गरिरहन्छु । कुतर्कले काव्यदोष पैदा गर्दछ र सुतर्कले काव्यगुण प्रदान गर्दछ ।
लेखेर पाइने र नपाइने के हो ?
लेखेर सबैथोक पाइन्छ । सबैभन्दा पहिला त आत्मसन्तुष्टि प्राप्त हुन्छ, जुन जीवनका लागि सञ्जीवनी बुटी नै हो । त्यसपछि पाठक, स्रोता तथा दर्शकको अपार माया पाइन्छ, जसले जीवन जिउन सहज बनाउँछ । लेखनले नाम दिन्छ । नाममात्रै होइन दाम पनि दिन्छ । यसर्थ, लेखनले सर्वश्व दिन्छ । लेखनले नदिने भनेको एउटै चिज हो– घृणा, तिरस्कार र अपमान ।
यहाँका कस्ता र कति गीतहरु स्रोता–दर्शकमाझ आएका छन् ?
मेरो एकल एल्बम ‘तालुमा आलु’ सार्वजनिक भएको छ । यो सँगसँगै भत्काइदिन्छु बाख्राको खोर पनि, ए होइ मेरी तीतेकरेली, ए बाउ भात खान आऊ, ए सासू पाकेन मासु, या-या थुक्क, जय भुँडी, फूलैको थुङ्गा सेवारो लुङ्गा, तालुमा आलु, ए धनिया आऊ मेरो बुई, परिवार नियोजन गर्न जाऔं, नसा नसामालगायतका गीतहरु स्रोता-दर्शकमाझ आइसकेका छन् ।
अझै कस्ता गीतहरु लेख्ने र प्रकाशन गर्ने योजनामा हुनुहुन्छ ?
जीवन र जगतको चित्रण गर्ने र स्रोता-दर्शकको मन र मस्तिष्कमा बस्ने गीतहरु सिर्जना गर्ने योजनामा छु ।
(मिलापको असार अङ्कबाट)






