बुटवल
जेठ २७ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० स्थित गंगादेवी गाईफार्ममा काम गर्ने पाँज जनाको हत्या भएको छ । सोमबार राति घरेलु हतियार प्रयोग गरी उनीहरुको हत्या भएको रुपन्देही प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ज्यान गुमाउनेमा रूपन्देही मुगृया बालापुरका ४० वर्षीय माधव मुसहर, उनको ३७ वर्षीया श्रीमती जानकी मुसहर, ठेगाना नखुलेका १४ वर्षीय पोखराज मुसहर, रूपन्देही तिलोत्तमा १० का १६ वर्षीय करण चौधरी र १५ वर्षीय आशिष चौधरी रहेका छन् ।
गएराती १ बजेतिर तिलोत्तमा नगरपालिका वडा नं. १० कान्छीबजारस्थित कृष्ण पुनको गंगादेवी पशु गाई फर्ममा कार्यरत ६ जनामध्ये ५ जनाको हत्या भएको हो । हत्यामा संलग्न भनिएका सुर्खेत घर भएका ३२ वर्षीय झसेन्द्र सिञ्जाली पक्राउ परेका छन् ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सिञ्जालीले प्रारम्भिक अनुसन्धानका क्रममा हत्यामा आफू संलग्न रहेको बताएका छन् । हत्याको कारण खुलिसकेको छैन् ।






