पोखरा,
जेष्ठ २० ।
पोखरा-९ पृथ्वीचोकमा अबस्थित हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले वार्षिकोत्सवका अवसरमा रक्तदानलगायत कार्यक्रम गरेको छ । कार्यालय प्राङ्गणमा संस्थाको ११ औं वार्षिक उत्सव मंगलबार सामाजिक दुरी कायमगरी रक्तदान, २०७७ सालको भित्तेपात्रो लोकार्पण गरिएको थियो । सो अवसरमा संस्थाका सम्पूर्ण सेयर सदस्यहरुको कोरना बीमाको घोषणा र पोखरा महानगरको विपत व्यवस्थापन कोषमा सहयोग रकम हस्तान्तरण पनि गरिएको छ ।
रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत सङ्कलन गरिएको सहकारी संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष शुक्रराज कंडेलको सभापतित्वमा सो कार्यक्रम सम्पन्न थियो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी समितिका प्रमुख तेजनारायण अधिकारी रहेका थिए । सो अवसरमा प्रमुख अतिथि अधिकारीले विषम परिस्थितिमा पनि रक्तदान कार्यक्रम आयोजना गरेर सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व बहन गरेको बताए ।

सोही अवसरमा पोखरा महानगरको विपत व्यवस्थापन कोषमा सहकारीले २२ हजार २ सय २२ रुपैयाँ सहयोग समेत गरेको छ ।
उक्त कार्यक्रममा संस्थाका पुर्वअध्यक्ष तथा सल्लाहकार किसन सुनार, गिरीप्रसाद गुरुङ, सल्लाहकार नवीनकिरण भुसाल, सल्लाहाकार राधिका योगी शाही, सञ्चालक सदस्यहरु, कर्मचारीहरु लगायतको उपस्थिति थियो ।
कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष सुबास ढुंगाना र कार्यक्रम सञ्चालन संस्थाका सचिव लोकेन्द्रकुमार राईले गरेका थिए ।






