काठमाडौं,
श्रावण २७ ।
नेपाल महिला रेस्लिङ् फाउण्डेसनको शुभारम्भ भएको छ । प्रतिनिधि सभा सदस्य तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले बानेश्वरको शान्तिनगरमा अवस्थित नेपाल महिला रेस्लिङ फाउण्डेसनको उद्घाटन गरेसँगै यसको शुभारम्भ भएको हो । शनिबार एक कार्यक्रमकाबीच फाउण्डेशनको पूर्व मन्त्री समेत रहेका बस्नेतले उद्घाटन गरेका थिए ।
कलाकारिता र रेस्लिङ खेललाई एकसाथ अघि बढाएकी भगवती खड्का ‘यूनिका’ ले यो फाउण्डेसन सञ्चालनमा ल्याएकी हुन् । उनी अध्यक्ष रहेको यस फाउण्डेशनले आगामी दिनमा रेस्लिङ प्रति रुचि भएका हरेक नारीलाई खेलको व्यवस्था गरेको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य बस्नेतले खेल क्षेत्रमा सम्भावना र चुनौती दुवै रहेको बताए । उनले खेल क्षेत्रले समेत राष्ट्र चिनाउने काम गरेको भन्दै यो फाउण्डेसनले राम्रो खेलाडी उत्पादन गर्न सफल रहोस् भनि शुभकामना दिए ।
उद्घाटनसँगै ९ खेलाडी बीचको रेस्लिङ खेल देखाइएको थियो । भगवती खड्का, ड्रागम मुना र शोभा सुखरियाबीचको त्रिपक्षीय खेल निकै रोमाञ्चक रह्यो । ड्रागन मुनाले शोभा र यूनिकालाई हराएर जित हासिल गरिन् । यता उत्तम विष्ट र मनोज पार्करको बीच भएको रेस्लिङमा भने उत्तम विजयी बने । अस्मिता जुरेली र अस्मिता राईको भिडन्त पनि निकै चुनौतीपूर्ण र रोचक रह्यो । मैदानमा भिड्दै गर्दा अस्मिताको गोडामा चोट लाग्न पुग्यो । यी दुईबीचको खेलमा भने अस्मिता जुरेलीले अस्मिता राईलाई हराइन् । यता अन्तिम खेल अन्तर्गत बबी पीटर कुमाल र सन्जित खम्बाबीको प्रतिस्पर्धालाई पनि कम आङ्कलन गर्न मिल्दैन । सन्जितलाई हराउदै बबीले खेलमा जित हासिल गरे । यि सबै खेलमा रेफ्रीको भूमिका गुणराज रुचालले निभाएका थिए ।
फाण्डेसनलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनेहरुलाई सम्मानपत्र र मायाको चिनोबाट सम्मानित गरिएको थियो । कार्यक्रममा कलाकार कमला रेग्मी, द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठ, समाजसेवी शिव श्रेष्ठलगायतका व्यक्तित्वको उपस्थिती रहेको थियो ।






