काठमाडौं,
मंसिर १३ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा जारी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ खेलमा प्रतिस्पर्धा गर्दै कम्तीमा ३५ पदक जित्ने लक्ष्य लिएको छ । एनआरएनए स्पोर्ट्स एकेडेमीले शनिबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगितामा आफ्नो सहभागिता, तयारी तथा हालसम्मको उपलब्धिबारे जानकारी गराएको हो ।
एनआरएनएका युवा उपाध्यक्ष एवं स्पोर्ट्स एकेडेमीका अध्यक्ष भीमसेनकाजी थापाका अनुसार विश्वभर छरिएर रहेका नेपालीलाई खेलकुदका माध्यमबाट मातृभूमिसँग जोड्ने तथा नेपाली खेलकुदको विकास र प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले संघले यसपटक प्रतियोगितामा सहभागिता जनाएको हो ।
एनआरएनएले व्यक्तिगततर्फ एथलेटिक्स, ब्याडमिन्टन, बुद्धिचाल, साइक्लिङ, जुडो, कराँते, फुल कन्ट्याक्ट कराँते, लन टेनिस, पौडी र टेबल टेनिस तथा सामूहिकतर्फ क्रिकेट गरी ११ खेलमा प्रतिस्पर्धा गरिरहेको छ । बक्सिङसहित १२ खेलमा खेलाडी दर्ता गरिए पनि प्रतियोगिताको समयतालिकामा फेरबदल भएका कारण बक्सिङमा सहभागी हुन नसकिएको एकेडेमीका सदस्यसचिव स्वयम्भूराज डंगोलले जानकारी दिनुभयो ।
प्रतियोगितामा एनआरएनएको टोलीबाट १९ देशका खेलाडीसहित कुल ८२ जनाले सहभागिता जनाउनेछन् । संघले विभिन्न ७९ विधा तथा तौल समूहमा प्रतिस्पर्धा गर्ने जनाएको छ ।
प्रतियोगिताअन्तर्गत पौडी र टेनिसका स्पर्धा सम्पन्न भइसकेका छन् । नेपालगञ्जमा सम्पन्न पौडी प्रतियोगिताका २३ विधामा प्रतिस्पर्धा गरेको एनआरएनएले उल्लेखनीय सफलता हात पारेको छ । अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्ने मिखा थापाले पाँच स्वर्ण र तीन कांस्य गरी आठ पदक जित्नुभएको छ । त्यस्तै, अमेरिकाकी लिली बोहराले सात स्वर्ण, चार रजत र एक कांस्य गरी कुल १२ पदक जित्नुभएको छ ।
एनआरएनएले राष्ट्रिय खेलकुदमा आफ्नो सहभागितालाई क्रमशः उपलब्धिमूलक बनाउँदै लगेको छ । २०७६ सालमा नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग विभागीय टोलीसरह मान्यता पाउने समझदारीपत्रमा हस्ताक्षर गरेपछि संघले पहिलोपटक आठौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाएको थियो ।
लुम्बिनी प्रदेशमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा सात स्वर्ण, तीन रजत र पाँच कांस्य गरी १५ पदक जित्दै नवौं स्थानमा रहेको एनआरएनएले गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद, २०७९ मा १२ स्वर्ण, चार रजत र १० कांस्य गरी २६ पदक जितेको थियो । उक्त प्रतियोगितामा संघ पदक तालिकाको छैटौं स्थानमा रहन सफल भएको थियो ।
यसपटक भने कम्तीमा २० स्वर्ण, १० रजत र पाँच कांस्य गरी कुल ३५ पदक जित्ने र पदक तालिकामा चौथो स्थान हासिल गर्ने लक्ष्य संघले राखेको छ ।
कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले डायस्पोरामा रहेका नेपालीलाई खेलकुदका माध्यमबाट मातृभूमिसँग जोड्ने अभियानलाई संघले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले आगामी दिनमा नेपाल सरकारसँग सहकार्य गरी खेलकुद क्षेत्रको विकासमा समेत योगदान पुर्याउन संघ तयार रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै, एनआरएनए उपाध्यक्ष तथा दशौं राष्ट्रिय खेलकुदका आर्थिक संयोजक प्रवीण गुरुङले सबैको साथ र सहयोगबाट प्रतियोगितामा सहभागिता सम्भव भएको बताउनुभयो । खेलाडीको सुविधा र व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउँदै उनले सहयोगका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का सबै पदाधिकारी तथा सदस्यलाई आग्रह गर्नुभयो ।
प्रतियोगितामा एनआरएनएको व्यवस्थापन प्रमुख तथा आईसीसी उपाध्यक्ष मनोज श्रेष्ठ (गोर्खाली) ले संघको सहभागिता विभागीय टोलीहरूसँग प्रतिस्पर्धा गर्ने उद्देश्यमा मात्र सीमित नरहेको बताउनुभयो । विदेशमा जन्मिएर तथा हुर्किएर रहेका नयाँ पुस्तालाई नेपालको खेलकुद र राष्ट्रिय प्रतियोगितासँग परिचित गराउनु पनि सहभागिताको महत्वपूर्ण उद्देश्य भएको उहाँको भनाइ थियो । उहाँले आठौं र नवौं राष्ट्रिय खेलकुदको तुलनामा यसपटक पदक तालिकामा थप सुधार हुने अपेक्षा व्यक्त गर्नुभयो ।
एनआरएनएका महासचिव डा. चिरञ्जीवी खड्काले खेलाडीको सुविधा र व्यवस्थापनका लागि सचिवालयले आवश्यक काम गरिरहेको बताउनुभयो । व्यवस्थापनका क्रममा देखिएका कमजोरीलाई आगामी दिनमा सुधार गर्दै लैजाने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
पत्रकार सम्मेलनमा खेलाडी छनोट प्रक्रिया लगायतका विषयमा सञ्चारकर्मीले जिज्ञासा राखेका थिए । त्यसको जवाफ दिँदै एनआरएनएका प्राविधिक निर्देशक रवि शाहीले आवश्यक सबै कागजात जाँच गरेर मात्रै खेलाडी छनोट तथा सहभागिता सुनिश्चित गरिएको स्पष्ट पार्नुभयो ।
यसैबीच, एनआरएनएले शनिबार दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन जाने आफ्ना केही खेलाडीलाई औपचारिक रूपमा बिदाइसमेत गरेको थियो ।







