काठमाडौं,
कात्तिक ३० ।
चलचित्र ‘फ्रेन्च किस’को टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेता तथा निर्देशक अर्पण थापाको निर्देशनमा बनेको यो चलचित्रको ओएसआर डिजिटलमार्फत सार्वजनिक टिजरसँगै आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिइएको हो ।
माघे संक्रान्तिको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्रको टिजरमा अर्पण थापा र थिन्ले ल्हामोलाई रोमान्टिक अवतारमा देखाइएको छ । काठमाडौंका विभिन्न सुन्दर स्थानदेखि तालसम्म घुम्ने प्रेम जोडीको सम्बन्ध, आकर्षण र उतारचढावलाई टिजरमा प्रस्तुत गरिएको छ । यसले आधुनिक प्रेमको क्षणिकता र बदलिँदो सम्बन्धलाई संकेत गर्छ ।
ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रमा अर्पण र थिन्लेसँगै रेखा थापा, गौरी मल्ल, आयशा तामाङ लगायतका कलाकारको अभिनय छ । चलचित्रको कथा पनि निर्देशक थापाकै रहेको छ ।
चलचित्रका कार्यकारी निर्माता सौगात बस्नेत र सह-निर्माता सुभाष बी. शाही हुनुहुन्छ । सुदीप बरालको छायांकन रहेको चलचित्रमा दीपक बज्राचार्यको संगीत रहनेछ ।







