काठमाडौं,
कात्तिक २९ ।
हास्यप्रधान नेपाली चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित कार्यक्रममा निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । चलचित्र आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउनेछ ।
ट्रेलरमा कुलेबारी गाउँमा अस्पताल निर्माण गर्ने स्थानीयवासीको प्रयास र त्यसका लागि उनीहरूले बनाएका विभिन्न योजनालाई हास्यरसमा प्रस्तुत गरिएको छ । अस्पताल बनाउन बैंक लुट्नेसम्मको योजना बनाइएको दृश्यले चलचित्रको कथावस्तुलाई रोचक बनाएको छ ।
चलचित्रमा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के र मनोज गजुरेल लगायतका कलाकारको अभिनय रहेको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकार गौरी मल्लले चलचित्रले अन्य फिल्मभन्दा फरक प्रस्तुति दिने प्रयास गरेको बताउनुभयो । निर्देशक बिक्की अगरवालले नेपाली दर्शकको रुचिअनुसार चलचित्र निर्माण गरिएको दाबी गर्नुभयो ।
बिक्की अगरवाल र श्रद्धा प्रसाईंको निर्देशन रहेको चलचित्रको लेखन बिक्की अगरवाल, सरोज भण्डारी र विकास अर्यालले गर्नुभएको हो । श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको चलचित्रको डिओपी सुदीप बरालले गर्नुभएको छ ।
यसअघि भदौ १९ गते प्रदर्शन गर्ने तयारी गरिएको चलचित्र बाढीपहिरोका कारण भएको जनधनको क्षतिलाई मध्यनजर गर्दै प्रदर्शन मिति सारेर मंसिर ११ गते पुर्याइएको थियो ।







