तिहार आरम्भ, आज धनतेरस

काठमाडौं,
कात्तिक २० ।

नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु हुँदैछ । तिहारको पहिलो दिन आज धनतेरस मनाइँदै छ । यस अवसरमा घरघरमा दीपमालिका गरी नयाँ धातुका भाँडाकुँडा तथा गरगहना किनेर लक्ष्मीको पूजा गर्ने मैथिल परम्परा छ ।

चन्द्रमासअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने तिहार यस वर्ष तिथिको घटबढका कारण छ दिनसम्म मनाइने भएको छ ।

मिथिला परम्पराअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशीका दिन साँझ दीपमालिका गरी धनतेरस मनाउने चलन छ । यस दिन धनधान्यकी देवी लक्ष्मीलाई प्रसन्न पार्न नयाँ धातुका भाँडाकुँडा, गरगहना, खरेटो, धनियाँलगायत सामग्री खरिद गरी घरमा स्थापना गर्ने परम्परा रहेको छ ।

कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ । पञ्चाङ्गअनुसार आइतबार कात्तिक कृष्णपक्षको चतुर्दशीका दिन कुकुर पूजा गरिनेछ भने सोही दिन साँझ लक्ष्मीपूजा हुनेछ ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक २४ गते मंगलबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कार्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्म (म्ह) पूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ। कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्नुपर्ने हुन्छ । आत्म (म्ह) पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ ।

नेपाल संवत्को नयाँ वर्ष ११४७ पनि यसै दिन सुरु हुन्छ । शास्त्रीय विधि अनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक २५ गते बुधबार नै मनाइन्छ । कात्तिक २५ गते बुधबार बिहान ११ः०७ बजे भाइटीकाको साइत उत्तम रहेको बताइएको छ । मध्याह्न कालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार