एनपीएल : आज लुम्बिनी-जनकपुर र काठमाडौं-विराटनगर आमने-सामने

काठमाडौं,
कात्तिक १९ ।

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज (बिहीबार) दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२ः३० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ भने साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किंग्स आमने-सामने हुनेछन् ।

दिउँसो हुने पहिलो खेलमा अपराजित लुम्बिनी लायन्स चौथो जितको खोजीमा मैदान उत्रनेछ । लुम्बिनीले हालसम्म तीन खेल खेल्दा दुई जित र एक खेलमा अङ्क बाँड्दै पाँच अंकसहित तालिकाको शीर्ष स्थानमा कब्जा जमाएको छ ।

अर्कातर्फ, जनकपुर बोल्ट्सले चार खेल खेलिसक्दा दुई जित र दुई हारको नतिजासहित चार अंक जोडेको छ र तालिकाको चौथो स्थानमा रहेको छ । समान चार अंक भए पनि रनरेटका आधारमा कर्णाली र विराटनगर अगाडि रहेका छन् । तेस्रो जितको खोजीमा रहेको जनकपुर आज आफ्नो पाँचौं खेल खेल्दैछ ।

यसैगरी, साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किंग्स भिड्नेछन् । जारी प्रतियोगितामा दुई खेल खेल्दै एक जित र एक हार निकालेको काठमाडौँ दुई अंकका साथ तालिकाको पुछारबाट दोस्रो स्थानमा छ र आजको खेल जित्नैपर्ने दबाबमा छ ।

उता, सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स चार खेलमा दुई जितसहित चार अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । विराटनगर आज आफ्नो पाँचौँ खेलमा तेस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

यसमा तपाइको मत

अन्य समाचार