‘चिरञ्जीवी भवः’का दुई पोस्टर सार्वजनिक, माघ १ मा प्रदर्शन हुने

काठमाडौं,
कात्तिक १४ ।

दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘चिरञ्जीवी भवः’का दुई पोस्टर सार्वजनिक भएका छन् । निर्माण टिमले शनिबार चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीलाई समेटेर पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा हरिवंशलाई गम्भीर र रवाफिलो पारिवारिक अभिभावकको भूमिकामा प्रस्तुत गरिएको छ । अर्को पोस्टरमा उहाँ आशीर्वादलाई आशीर्वाद दिइरहेको देखिनुभएको छ । यसबाट चलचित्रमा हरिवंश र आशीर्वाद बुवा–छोराको भूमिकामा रहेको अनुमान गरिएको छ । चलचित्रमा हरिवंश ‘चिरञ्जीवी बाजे’को चरित्रमा देखिनुहुनेछ ।

सोसल ड्रामा विधाको चलचित्रले दुई पुस्ताबीचको वैचारिक भिन्नता र पारिवारिक सम्बन्धको कथालाई प्रस्तुत गर्नेछ । कुमार कट्टेल ‘जिग्री ब्रो’को कथामा दीपक आचार्यले चलचित्र निर्माण गर्नुभएको हो । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्र अहिले पोस्ट प्रोडक्सनमा छ ।

चलचित्रमा हरिवंश, आशीर्वाद र प्रशंसासँगै करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, तुलसी घिमिरे, सरोज अर्याल, हरिस निरौला लगायतका कलाकारको अभिनय छ ।

गत वर्ष ‘परान’मार्फत व्यावसायिक सफलता हासिल गर्नुभएका निर्देशक आचार्यको यो दोस्रो चलचित्र हो । चलचित्र माघ १ गते (१५ जनवरी)देखि देशभरका हलमा प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार