‘चंगुल’को जापान र कोरियाका लागि प्रदर्शन अधिकार बिक्री

काठमाडौं,
असोज २१ ।

चलचित्र ‘चंगुल’को जापान र कोरियाका लागि आधिकारिक प्रदर्शन अधिकार बिक्री भएको छ । असोज १६ गतेदेखि नेपालमा प्रदर्शनरत चलचित्र ‘चंगुल’ नेपालमा रिलिज भएको केही समयपछि जापान र कोरियामा समेत प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

जापान र कोरियामा चलचित्र प्रदर्शनको अधिकार समन्द्र घिमिरे र उहाँको टिमले खरिद गरेको हो । नेपालमा प्रदर्शनपछि चलचित्रलाई विदेशमा पनि दर्शकमाझ पुर्‍याउने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।

राजनीतिक परिवेशले नयाँ धार समात्नुअघि र त्यसपछिको अवस्थालाई कथाको आधार बनाइएको चलचित्र ‘चंगुल’ले लामो समयसम्म एउटै राजनीतिक समूहले कसरी देशलाई आफ्नो नियन्त्रणमा राखेर दोहन गरिरहेको थियो भन्ने विषय उठाएको छ । राजनीतिक तथा सामाजिक परिवेशलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रले समसामयिक विषयलाई फरक कोणबाट प्रस्तुत गर्ने प्रयास गरेको निर्माण पक्षको भनाइ छ ।

मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगानालगायत कलाकारको अभिनय छ । चलचित्रमा बालकलाकार रिम्शा कार्कीको समेत अभिनय छ ।

चलचित्रका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत रहेको छ । देव महर्जनले द्वन्द्व निर्देशन गर्नुभएको छ भने दीपेन बस्न्यातको छायांकन तथा सम्पादन छ ।

निर्माण पक्षले चलचित्रबाट प्राप्त नाफाको केही हिस्सा घाइते जेन-जी नेपाललाई उपलब्ध गराउने तथा बाढीपीडितको सहयोगका लागिसमेत रकम छुट्याउने बताउँदै आएको छ ।

यसमा तपाइको मत

अन्य समाचार