हिरण्यकुमारी पाठक, मधुवन पौडेल र बद्री पोखरेललाई वासु शशी साहित्य सम्मान

काठमाडौं,
असोज २१ ।

वासु शशी स्मृति परिषद्ले वरिष्ठ सर्जक हिरण्यकुमारी पाठक, मधुवन पौडेल र डा.बद्री पोखरेललाई यस वर्षको वासु शशी साहित्य सम्मान प्रदान गर्ने निर्णय गरेको छ । परिषद्का अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले उहाँहरूलाई सम्मान गर्ने निर्णय गरेको हो । परिषद्का सदस्य-सचिव प्रद्युम्न जोशीका अनुसार सम्मान आगामी २०८३ असोज २७ गते प्रदान गरिनेछ ।

पाँच दशकदेखि साहित्य सिर्जनामा सक्रिय हिरण्यकुमारी पाठकका ‘मोहचक्र’, ‘शून्यवत्’, ‘दूरस्वप्न’ र ‘अग्निदह’ कथाकृति, ‘अव्यक्त’ र ‘सम्बन्धको चुकुल’ कविताकृति तथा ‘धूर्त स्याल र घमण्डी बाघ’ बालउपन्यास प्रकाशित छन् । यस्तै ‘तिम्रो प्रेम वृत्तान्त’ जीवनी तथा ‘मेहनती मौरी’, ‘दश महामूर्ख’, ‘रामकथा’, ‘चतुरे बन्यो नेता’ र ‘चमत्कारी औंठी’ बालकथाकृति पनि उनका प्रकाशित कृतिमा पर्छन् ।

पाठकले ‘नारी स्वर’ साहित्यिक पत्रिका तथा ‘सम्झनामा राममान त्रिषित’ ग्रन्थको सम्पादनसमेत गर्नुएको छ । उहाँ व्यथित काव्य पुरस्कार, छिन्नलता सम्मानलगायत तीन दर्जनभन्दा बढी सम्मान तथा पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।

यसैगरी यात्रा निबन्ध तथा समसामयिक विषयमा लेख्दै आउनुभएका कथाकार मधुवन पौडेल तीसको दशकका चर्चित आख्यानकारका रूपमा परिचित हुनुहुन्छ । उहाँका ‘बाँच्नुको विवशता’, ‘नलिनी भाउजु’, ‘म र मेरो परिवेश’, ‘चपाएको दन्त्यकथा’, ‘आवतरण र अरू कथाहरू’, ‘आफ्नै अतीत दोहोरिए जस्तो’, ‘अन्त्यहीन परिवेश’ र ‘फाजिल जिन्दगी’ कथासंग्रह प्रकाशित छन् । त्यस्तै, ‘एउटी वेश्याको आत्मकथा’ लघु उपन्यास तथा ‘ब्रिटिशकालीन भारतको इतिहास’ गैरसाहित्यिक कृति पनि उहाँका प्रकाशित कृतिमा रहेका छन् ।

पौडेल मैनाली कथा सम्मान, शंकर कोइराला आख्यान पुरस्कार, मानश्री पुरस्कार, विख्यात त्रिशक्तिपट्ट तथा गोरखा दक्षिणबाहु चौथो लगायतका पुरस्कार तथा सम्मानबाट सम्मानित भइसक्नुभएको छ ।

नेपाली भाषा-साहित्यमा सक्रिय डा. बद्री पोखरेल अर्थशास्त्र, लैंगिक समानता, सशक्तीकरण तथा समावेशी विकासका विषयमा अनुसन्धानमूलक लेखरचना लेख्दै आउनुभएको छ । उहाँका ‘मभित्र अर्कै छ’ कवितासंग्रह, ‘दश पोका भित्रका पन्ध्र अञ्जुली’ यात्रा निबन्धसंग्रह, ‘मेची-काली’ निबन्धसंग्रह र ‘अर्को यात्रा अन्टार्कटिका’ अनुभवात्मक पुस्तक प्रकाशित छन् ।

त्यस्तै ‘व्यवस्थापनका पाँच आयाम’, ‘नेपालमा सम्पत्ति कर : सिद्धान्त र व्यवहार’, ‘अर्थशास्त्र शब्दकोश’ तथा मूल संस्कृतबाट अंग्रेजीमा अनुवाद गरिएको ‘शिव महापुराण’ उहाँका अन्य प्रकाशित कृति हुन् । उहाँको ‘आरोग्य’ गीति एल्बमसमेत प्रकाशित छ ।

यसअघि वासु शशी साहित्य सम्मानबाट तीर्थराज वन्त, डा. मोहनहिमांशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीताकेशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल, कृष्ण जोशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कल्पना प्रधान, श्रेष्ठ प्रिया पत्थर, कर्ण शाक्य, हिरण्य भोजपुरे, किरण खरेल र मनबहादुर मुखिया लगायतका वरिष्ठ स्रष्टा सम्मानित भइसक्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार