काठमाडौं,
असोज १८ ।
वरिष्ठ साहित्यकार तथा महाकाव्यकार खेमनाथ दाहाललाई ‘यमन ग्लोबल म्युजिक अवार्ड-२०८३’मा ‘महाकाव्य साधना सम्मान’ प्रदान गरिएको छ । काठमाडौंमा हालै सम्पन्न समारोहमा नेपाली साहित्य, संस्कृति, दर्शन र मानवीय संवेदनाका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप दाहाललाई उक्त सम्मान प्रदान गरिएको हो । विशेषगरी महाकाव्य लेखनमा उहाँले पुर्याएको विशिष्ट योगदानको सम्मानस्वरूप ‘महाकाव्य साधना सम्मान’ प्रदान गरिएको आयोजकले जनाएको छ ।
साहित्य र संगीतको संगमका रूपमा आयोजित समारोहमा विभिन्न विधाका स्रष्टा-सर्जकलाई समेत सम्मान तथा अवार्ड प्रदान गरिएको थियो । सम्बाहाम्फे प्रपर्टी डेभलपर्स प्रालिका अध्यक्ष पूर्णबहादुर सम्बाहाम्फेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुश्मा प्रोडक्सन ग्लोबल, सिक्किमकी सञ्चालक सुश्मा गुरुङ विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । सो अवसरमा वरिष्ठ गायिका तारा थापालाई ‘दीर्घसाधना सम्मान’ प्रदान गरिएको थियो ।
दाहाल नेपाली साहित्यमा कविता, काव्य, महाकाव्य, नियात्रा, उपन्यास तथा भूमिका लेखनलगायत विभिन्न विधामा सक्रिय स्रष्टाका रूपमा परिचित हुनुहुन्छ । उहाँका ‘श्रद्धाञ्जलि’ कवितासंग्रह, ‘रश्मी’ खण्डकाव्य, ‘योद्धा’ काव्य, ‘हावर्डको चौतारीमा’ कवितासंग्रह, ‘श्वेतपत्र’ महाकाव्य, ‘म त बन्दी भएको छु’ कवितासंग्रह, ‘यात्राको सिकिर्नी’ नियात्रा, ‘अहोरात्र’ उपन्यास तथा ‘सिर्जनामा दृष्टि’ भूमिका लेखनसंग्रह प्रकाशित छन् ।
दाहालको साहित्यिक व्यक्तित्व र सिर्जनामाथि पनि विभिन्न कृति प्रकाशित भएका छन् । ‘नव छायाँवादको छवि’, ‘खेमनाथ दाहाल ः सिर्जना र मूल्यांकन’ तथा ‘समालोचना वृत्तमा खेमनाथ दाहाल’ जस्ता कृतिले उनका साहित्यिक योगदानको विभिन्न कोणबाट मूल्यांकन गरेका छन् । ‘मिलाप’, ‘जनमत’ र ‘बगर’लगायतका पत्रिकामा उनका सिर्जना तथा व्यक्तित्वमाथि कभर स्टोरीसमेत प्रकाशित भएका छन् ।
साहित्यसँगै संगीतमा पनि दाहालको योगदान रहेको छ । उहाँका काव्यिक सिर्जनामा आधारित गीतहरू समेटिएको ‘जागृति’ नामक गीति एल्बम सार्वजनिक भएको छ । ‘श्वेतपत्र’ महाकाव्य र ‘योद्धा’ काव्यबाट साभार गरिएका गीत समेटिएको उक्त एल्बममा ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’, ‘बित्छ बिहान आमाको’, ‘फुल्छ बागमा फूल’ र ‘गाउँछौ अब लौ आमाका गीत’लगायत गीत रहेका छन् ।
एल्बमका ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’ र ‘फुल्छ बागमा फूल’मा संगीतकार तथा गायक सन्तोष श्रेष्ठको स्वर रहेको छ भने ‘बित्छ बिहान आमाको’मा ज्ञानु राणा र ‘गाउँछौ अब लौ आमाका गीत’मा रमेश पाठकको स्वर रहेको छ । एल्बमका सबै गीतमा सन्तोष श्रेष्ठले संगीत दिनुभएको छ ।
साहित्यलाई समाजको ऐना र सिर्जनालाई जीवनदर्शनका रूपमा आत्मसात् गर्दै आउनुभएका दाहालका सिर्जनामा सामाजिक जीवनका आरोह-अवरोह, संस्कृति, दर्शन र मानवीय संवेदनाका विविध पक्ष अभिव्यक्त हुँदै आएका छन् । ‘महाकाव्य साधना सम्मान’ले उहाँको दीर्घ साहित्यिक साधना र नेपाली साहित्यमा पुर्याएको योगदानको थप मूल्यांकन भएको साहित्यिक क्षेत्रका जानकारहरूको धारणा छ ।






