काठमाडौं,
असोज १७ ।
नेपाल प्रज्ञाप्रतिष्ठानले आदिगजलकार मोतीराम भट्टको १६१औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘मोती-लय’ कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानको मुख्य प्रेक्षालयमा आयोजित कार्यक्रममा गजल, सङ्गीत, चित्रकला र नाट्यकलामार्फत मोतीराम भट्टको योगदानको स्मरण गरिएको हो ।
कार्यक्रममा विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा गायिका जलजला परियारले मोतीराम भट्टका गजल प्रस्तुत गर्नुभयो । उहाँलाई तबलामा शम्भु श्रेष्ठ, गितारमा राजकुमार समाल र बाँसुरीमा निर्मल सिंहले साथ दिनुभएको थियो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका ११ चित्रकारले मोतीराम भट्टसँग सम्बन्धित विषयमा प्रत्यक्ष चित्रकला प्रस्तुत गरेका थिए । यस्तै, शिल्पी थिएटरका कलाकारले मोतीरामको जीवनी तथा उहाँका गजलमा आधारित नाट्य प्रस्तुति दिएका थिए ।
सातै प्रदेशबाट तीन-तीन जनाका दरले सहभागी २१ जना नयाँ पुस्ताका गजलकारले विभिन्न राष्ट्रिय भाषासमेत प्रयोग गर्दै गजल वाचन गरेका थिए । कार्यक्रममा करिब एक दर्जन अग्रज गजलकारले पनि आफ्ना गजल प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गजल अभियन्ता तथा ‘मोती-लय’ मूल आयोजक समिति सदस्य घनेन्द्र ओझाले मोतीराम भट्ट गजलका आदिगजलकार मात्र नभई आदिप्रकाशक, आदिसम्पादक, आदिजीवनीकार, आदिसमालोचक, चित्रकार तथा सङ्गीतकार-गायकसमेत रहेको बताउनुभयो ।
मोतीरामका रुचिका प्रमुख चार विधा नाटक, चित्रकला, सङ्गीत र गजल वाचनलाई एउटै कार्यक्रममा समेटिएकाले ‘मोती–लय’ गजल, सङ्गीत, चित्रकला र नाट्यकलाको अभूतपूर्व संगम बनेको उहाँको भनाइ थियो । यसबाट मोतीरामको वास्तविक सम्मान भएको उहाँले बताउनुभयो ।
ओझाले नयाँ परिषद् गठन भएलगत्तै कुलपतिसहित परिषद्का सदस्यहरूसँग ‘राष्ट्रिय गजल दिवस’ घोषणाका लागि आफूले अनुरोध गरेको स्मरण गर्नुभयो । राज्यको आधिकारिक निकाय त्रिभुवन विश्वविद्यालयले यसअघि नै गजललाई स्वीकार गरिसकेको उल्लेख गर्दै उहाँले नेपाल प्रज्ञाप्रतिष्ठानले मोतीजयन्तीलाई ‘राष्ट्रिय गजल दिवस’का रूपमा मनाउने निर्णय गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रम संयोजक तथा प्रज्ञाप्रतिष्ठानका काव्य, संस्कृति एवं डिजिटलाइजेसन विभाग प्रमुख दीपक सापकोटाले नेपाली साहित्यको मूलधारको विधाका रूपमा स्थापित गजलको विकास तथा मोतीराम भट्टको सम्मानका लागि कुशे औँसीलाई ‘राष्ट्रिय गजल दिवस’का रूपमा मनाउने निर्णय गरिएको बताउनुभयो ।
उहाँले आगामी वर्षदेखि हरेक मोतीजयन्तीमा गजल महोत्सव आयोजना गरिने जानकारी दिँदै ‘राष्ट्रिय गजल दिवस’लाई मन्त्रिपरिषद्बाट औपचारिक निर्णय गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका सहसंयोजक तथा दलित, युवा एवं डिजिटलाइजेसन विभाग प्रमुख नवीन अभिलाषीले नेपाली गजलले व्यापकता हासिल गर्नुका साथै आधिकारिक सम्मानसमेत प्राप्त गरेको बताउनुभयो ।
प्रज्ञाप्रतिष्ठानका कुलपति कुमार नगरकोटीले गजल अभियन्ता घनेन्द्र ओझासँगको संवादलाई स्मरण गर्दै प्रतिष्ठानले नेपाली गजलको प्रवर्द्धनमा विशेष ध्यान दिएको बताउनुभयो । सचिव डा. रोशन शेरचनले प्रतिष्ठानको वार्षिक कार्ययोजनामै ‘राष्ट्रिय गजल दिवस’ समेटेर हरेक वर्ष गजल महोत्सव आयोजना गरिने जानकारी दिनुभयो ।
नेपाल प्रज्ञाप्रतिष्ठानको गत साउन २८ गते बसेको पहिलो बैठकले आदिगजलकार मोतीराम भट्टको जन्मजयन्ती अर्थात् कुशे औँसीलाई ‘राष्ट्रिय गजल दिवस’का रूपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार भदौ २६ गते आयोजना गर्ने भनिएको ‘मोती-लय’ कार्यक्रम भोटेकोसीमा आएको बाढीका कारण असोज १६ गतेका लागि सारिएको थियो ।






