शाक्यको ‘मेरो त्रिशूली’मा विपत्तिको पीडा र आशा (भिडियोसहित)

काठमाडौं,
असोज १ ।

त्रिशूली बाढी तथा प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, क्षति र बिछोडलाई समेट्दै सङ्गीतकर्मी साहस शाक्यले नयाँ गीत ‘मेरो त्रिशूली’ सार्वजनिक गर्नुभएको छ । गीतमा त्रिशूलीसँग जोडिएका पुराना सम्झना, विपत्तिको पीडा र पुनः उठ्ने आशालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ । गीतको अन्त्यमा ‘फेरि त्रिशूली हाँस्नेछ’ भन्ने आशावादी सन्देश दिइएको छ ।

नुवाकोटमा जन्मिनुभएका शाक्यको बाल्यकालदेखि युवावस्थासम्मको समय त्रिशूलीसँगै बिताउनुभएको थियो । दुई दशकभन्दा बढी समयदेखि नेपाली सङ्गीत क्षेत्रमा सक्रिय उहाँले करिब दुई हजार ५०० भन्दा बढी गीतमा सङ्गीत संयोजन गरिसक्नुभएको छ ।

‘मेरो त्रिशूली’मा शब्द, सङ्गीत, सङ्गीत संयोजन, स्वर तथा मिक्सिङ-मास्टरिङ शाक्यकै रहेको छ । सुदेश्ना इन्टरटेनमेन्टको स्टुडियो तथा लेबलमा तयार भएको गीतको भिडियोमा अनन्त अयाको क्यामेरा तथा वीरेन्द्र भाट ‘बिपिन’को सम्पादन छ ।

गीतमार्फत त्रिशूली बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको पीडा विश्वभर पुर्‍याउने प्रयास गरिएको शाक्यले बताउनुभएको छ । साथै उहाँले विश्वभर रहेका नेपाली समुदायलाई पीडित परिवारका लागि सक्दो सहयोग गर्न आग्रह गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार