कतारमा श्रम गर्ने नेपालीको बाढीपीडितका लागि एक लाख ११ हजार सहयोग

दोहा,
भदौ ३१ ।

नेपालमा बाढीपहिरोका कारण जनधनमा क्षति भइरहेका बेला कतारमा कार्यरत नेपालीहरूले भोटेकोशी बाढीपीडितका लागि आफ्नो कमाइबाट सहयोग गरेका छन् । कतारस्थित एसियाना दोहोरी गजल रेस्टुरेन्ट बारमा कार्यरत कर्मचारीहरूले आफ्नो आम्दानीबाट रकम संकलन गरी एक लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेका हुन् ।

एसियानाका जनरल म्यानेजर संजिवकुमार गुप्ताको पहलमा रेस्टुरेन्टमा कार्यरत कर्मचारीहरूले आफ्नो कमाइको केही हिस्सा छुट्याएर उक्त रकम संकलन गरेका थिए ।

नेपालमा बाढीका कारण ठूलो क्षति भएको खबर कतारमा रहेका नेपालीमाझ पुगेपछि एसियाना परिवारले पनि पीडितको सहयोगमा हातेमालो गर्ने निर्णय गरेको गुप्ताले बताउनुभयो । प्रवासमा रहेर देशमा भइरहेको पीडा हेरेर मात्र बस्नुभन्दा आफूले सकेको सहयोग गर्नुपर्छ भन्ने भावनाबाट अभियान अघि बढाइएको उहाँको भनाइ छ ।

‘देशमा यस्तो विपद् परेको समयमा प्रवासमै बसेर भए पनि हामीले आफ्नो तर्फबाट सानो सहयोग गर्न खोजेका हौँ । यो अभियानमा साथ दिने एसियाना परिवारका सबै कर्मचारीलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु,’ गुप्ताले भन्नुभयो ।

उहाँले सहयोगको महत्व रकमको आकारले मात्र निर्धारण नहुने बताउनुभयो । आफ्नो श्रम र पसिनाबाट आर्जन गरेको रकममध्ये केही हिस्सा पीडितका लागि छुट्याउनु नै महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।

‘सहयोग सानो-ठूलो हुँदैन । आफूले काम गरेर, पसिना बगाएर कमाएको पैसाबाट मनदेखि गरिएको सहयोग ठूलो हुन्छ,’ गुप्ताले भन्नुभयो, ‘अहिले देशलाई परेको यो विपद्मा विश्वभर रहेका नेपालीले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ ।’

गुप्ताले कतारलगायत विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई पनि भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आफ्नो क्षमताअनुसार सहयोग गर्न अपिल गर्नुभएको छ ।

भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारलाई तत्काल राहतसँगै पुनर्स्थापनाको चुनौतीसमेत थपिएको छ । घर, सम्पत्ति, व्यवसाय तथा जीविकोपार्जनका आधार गुमाएका परिवारलाई खाद्यान्न, आवास, स्वास्थ्य तथा अन्य अत्यावश्यक सामग्रीको आवश्यकता रहेको छ ।

गुप्ताले बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले प्रभावित परिवारको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा प्रवासी नेपालीबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

एसियाना रेस्टुरेन्टका कर्मचारीले आफ्नै श्रमबाट आर्जित रकमबाट गरेको यो सहयोगले प्रवासमा रहेका नेपालीमा देशप्रतिको जिम्मेवारी र मानवीय संवेदनाको भावना रहेको देखाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार