काठमाडौं,
भदौ २२ ।
चलचित्र ‘जदौ’ को दोस्रो गीत ‘तिमीसँग नबोली..बोल’ सार्वजनिक भएको छ । आइतबार हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा नायिका नीति शाह र नायक प्रभात पाल ठकुरी रोमान्टिक भावमा देखिनुभएको छ । किरण गजमेर र मनिषा सुनारको स्वर रहेको गीतमा गोपाल लोहारको शब्द तथा अर्जुन पोखरेलको संगीत छ । गीतको भिडियो रामजी लामिछानेले कोरियोग्राफी गर्नुभएको हो ।
अञ्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको चलचित्र आगामी ९ असोजमा देशव्यापी प्रदर्शन हुँदैछ । अन्तरजातीय प्रेमसम्बन्धको विषयमा आधारित चलचत्रको स्क्रिप्ट काजी लिम्बूले लेख्नुभएको हो । चलचित्रमा नीति र प्रभातसँगै मुकुन भुसाल, ऋचा शर्मा, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ र सुमित्रा देवकोटालगायत कलाकारको अभिनय छ ।
यसअघि सार्वजनिक ‘जदौ हजुर..’ शीर्ष गीतले राम्रो चर्चा पाइरहेका बेला निर्माण पक्षले दोस्रो गीत सार्वजनिक गरेको हो । सिर्जना शर्मा र मनिष शर्मा निर्माता रहेको चलचित्रलाई एनजिसिएन ग्रुपले देशव्यापी वितरण गर्दैछ । समीश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्टसँगको सहकार्यमा फिल्म निर्माण गरेको हो ।







