काठमाडौं,
भदौ २२ ।
गायिका निशा सुनारको स्वरमा रहेको तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक गरिएको छ । निशा सुनार र प्रकाश सपुतको स्वर रहेको गीतमा प्रकाश सपुतकै शब्द तथा संगीत छ । भदौ १० गते सार्वजनिक गर्ने तयारी गरिएको गीत भोटेकोशीमा विनाशकारी बाढी आएर ठूलो मात्रामा धनजनको क्षति भएपछि रोकिएको थियो । केही समयपछि गीत सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा प्रकाश सपुत, अभिनेत्री निरुता सिंह र विन्दु बोहराले अभिनय तथा नृत्य गर्नुभएको छ । गायिका सुनार पनि भिडियोमा विशेष भूमिकामा देखिनुभएको छ । सुनिल वीकको निर्देशनमा तयार भएको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी छ । हरि हुमागाईंले छायांकन गरेको भिडियो प्रवीण भट्टले सम्पादन गर्नुभएको हो ।
यस गीतको भिडियो प्रकाश सपुत र उहाँकी श्रीमती विन्दुले पहिलोपटक एकसाथ अभिनय गरेको म्युजिक भिडियोसमेत बनेको छ । भिडियोमा उहाँहरूको जोडीको केमेष्ट्रीलाई दर्शकले विशेष रूपमा रुचाउने अपेक्षा गरिएको छ ।
त्यस्तै, पछिल्लो समय निकै कम म्युजिक भिडियोमा देखिँदै आउनुभएकी अभिनेत्री निरुता सिंह पनि यस गीतमार्फत भिडियोमा देखिनुभएको छ । गीत आफूलाई निकै राम्रो लागेकाले अभिनयका लागि तयार भएको उहाँले बताउनुभएको छ ।
तीजको सांस्कृतिक परिवेशलाई प्रस्तुत गरिएको गीतमा लोकप्रिय कलाकारहरूको सहभागिताले ‘लाली लपक्कै सारी सपक्कै’लाई दर्शकमाझ थप आकर्षण दिने अपेक्षा गरिएको छ ।







