काठमाडौं,
भदौ ८ ।
नायिका सुहाना थापाले चलचित्र ‘बाः एक योद्धा’ केही फरक र चाखलाग्दो रहेको बताउनुभएको छ । यही भदौ १९ गतेबाट रिलिज हुने यो चलचित्र हेर्न आग्रह गर्दै उहाँले यसमा केही फरकपन रहेको दाबी समेत गर्नुभएको छ ।
‘हामी सबैलाई हाम्रो बाबा-आमाले हाम्रा लागि गरेको सम्झौता याद हुन्छ । तर, हामी त्यसलाई बाबा-आमाआमाका अगाडि खुलेर भन्न सक्दैनौँ,’ सुहाना भन्नुहुन्छ, ‘मेरो पात्रले मेरो लागि मेरो बुबाले कसरी सम्झौता गर्नुभएको छ भनेर डिफाइन गरिदिएको छ ।’
चलचित्रमा सुहानाका अलावा दिव्यदेव पन्त, झरना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा हुनुहुन्छ ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको यो चलचित्र कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेख्नुभएको हो ।
चलचित्रका निर्माता वसन्त लम्साल हुनुहुन्छ । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुनुहुन्छ भने सह-निर्माता कृष्ण काफ्ले रहनुभएको छ ।







