काठमाडौं,
भदौ ३ ।
उषा मलाहा ‘सिम्रन’को स्वरमा रहेको तीज गीत ‘चट्टै परेर’ सार्वजनिक भएको छ । गायिकाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा तीजको मौलिक भावना, माइतीको माया, साथी-संगीसँगको आत्मीयता तथा विगतका सम्झनालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ ।
आधुनिकताको प्रभावसँगै मौलिक तीज गीत तथा परम्परागत संस्कृति ओझेलमा पर्दै गएको अवस्थामा गीतले नेपाली समाजको मौलिक तीज संस्कृतिलाई उजागर गर्ने प्रयास गरेको छ ।
गीतमा डीपी खनालको शब्द, देवेन्द्र बरालको संगीत र विश्व अधिकारीको एरेन्ज छ । किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गर्नुभएको छ भने अमेरिकाको एसएम स्टुडियोमा सुवास सिन्चुरीले रेकर्डिङ गर्नुभएको हो ।
गीतको भिडियोमा नेपाली समाजको मौलिक संस्कृति र तीजको महत्वलाई ठेट नेपाली शब्द तथा भावनामार्फत प्रस्तुत गरिएको छ । भिडियोको छायांकन दिनेश पराजुली र सम्पादन विवेक सुनारले गर्नुभएको हो ।
सुनिशा बजगाईं, सुशीला थापालगायतको अभिनय रहेको भिडियोमा रोशन विश्वकर्माको कोरियोग्राफी छ । भिडियोको निर्देशन शान थापाले गर्नुभएको हो ।







