काठमाडौं,
भदौ २ ।
बीपी कोइरालासँगको सानिध्यमा रहेर लामो समय कांग्रेस राजनीतिमा सक्रिय रहनुभएका धर्म गौतमको राजनीतिक संस्मरण ‘बीपी र विद्रोहका ती दिन’ लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापाले पुस्तक लोकार्पण गर्नुभएको हो । कार्यक्रममा थापाले बीपी कोइरालाका बारेमा उहाँसँग निकट रहेर काम गर्नुभएका व्यक्तिका थप संस्मरण बाहिर आउनुपर्ने बताउनुभयो । उहाँले गौतमको कृति आजको पुस्ताका लागि महत्त्वपूर्ण र पढ्नैपर्ने पुस्तक भएको उल्लेख गर्नुभयो ।
लेखक तथा पत्रकार हरिहर विरहीले गौतमले बीपीको सानिध्यमा रहेर कांग्रेसमा काम गरेको स्मरण गर्दै पुस्तकमा महत्त्वपूर्ण राजनीतिक प्रसंग समेटिएको बताउनुभयो । पुस्तकबारे चर्चा गर्दै सुचेता प्याकुरेलले कृति रोचक र पठनीय रहेको बताउनुभयो । उहाँका अनुसार पुस्तकमा बीपीको सोच, दर्शन, राष्ट्रिय मेलमिलापको नीति तथा डा।तुलसी गिरी र विश्वबन्धु थापासँग सम्बन्धित प्रसंग समेटिएका छन् ।
कृतिकार गौतमले ‘जेन(जी’ आन्दोलनपछि पुस्तक लेख्ने सोच आएको सुनउनुभयो । उहाँले पुस्तकमा आफ्नै राजनीतिक जीवनसँगै बीपी कोइरालासँगको सानिध्यका अनुभव समेटिएको जानकारी दिनुभयो । बीपी व्यक्तिमात्र नभई दर्शन र विचार भएको उहाँको भनाइ थियो । किताब पब्लिशर्सले प्रकाशन गरेको पुस्तकबाट प्राप्त लेखकस्वमा केही रकम थप गरी गाउँको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा खर्च गर्ने गौतमले बताउनुभयो ।







