काठमाडौं,
साउन २६ ।
नेपालको पहिलो रंगीन नेपाली चलचित्र ‘कुमारी’को चलचित्र विकास बोर्डमा विशेष प्रदर्शन गरिएको छ । बोर्डले आयोजना गरेको ‘ओल्ड इज गोल्ड’ पुराना नेपाली चलचित्र प्रदर्शन शृंखलाअन्तर्गत सोमबार ‘कुमारी’ प्रदर्शन गरिएको हो । प्रदर्शन हाउसफुल भएको आयोजकले जनाएको छ ।
विशेष प्रदर्शनमा चलचित्रका कलाकार चैत्यदेवी सिंह, गौतम रत्न तुलाधर तथा छायाकार मञ्जु कुमार श्रेष्ठको उपस्थिति थियो । उहाँहरूले चलचित्र निर्माण गर्दाको अनुभव तथा तत्कालीन नेपाली चलचित्रको अवस्थाबारे दर्शकसँग अनुभव साझा गर्नुभएको थियो ।
चलचित्र विकास बोर्डका सदस्य गणेशप्रसाद सुवेदीले सहजीकरण गरेको अन्तर्क्रियामा ‘कुमारी’सँग जोडिएका कलाकार तथा प्राविधिकले चलचित्र निर्माणका स्मृति सुनाउनुभएको थियो । दशकौँपछि आफ्नै चलचित्र ठूलो पर्दामा दर्शकसँगै बसेर हेर्ने अवसरले कलाकार तथा प्राविधिकलाई समेत भावुक बनाएको थियो ।
बोर्डले ‘ओल्ड इज गोल्ड’मार्फत पुराना नेपाली चलचित्रलाई पुनः ठूलो पर्दामा ल्याउँदै चलचित्र इतिहासको संरक्षण र नयाँ पुस्तासम्म पहुँच विस्तार गर्ने उद्देश्य राखेको छ । ‘कुमारी’को हाउसफुल प्रदर्शनले पुराना नेपाली चलचित्रप्रति दर्शकको रुचि अझै कायम रहेको देखाएको छ ।







