तेस्रो सर्वाधिक कमाउने नेपाली चलचित्र बन्यो ‘गौंथली’

काठमाडौं,
साउन २६ ।

डा. कपिल रिजाल निर्देशित चलचित्र ‘गौंथली’ले घरेलु बक्स अफिसमा २० करोड रुपैयाँभन्दा बढी ग्रस कमाउँदै सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा तेस्रो स्थान हासिल गरेको छ । सोमबार दिउँसो ४ बजेसम्म यस चलचित्रले २० करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो । उक्त अवधिसम्म ‘गौंथली’लाई सात लाख २९ हजार दर्शकले हेरेका छन् ।

‘गौंथली’ले सोमबार नै समीर भट्ट स्टारर ‘१२ गाउँ’को बक्स अफिस कलेक्सनलाई उछिनेको हो । ‘१२ गाउँ’ले घरेलु बक्स अफिसमा १९ करोड ९२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो ।

यससँगै ‘गौंथली’भन्दा अगाडि ‘कबड्डी ४’ र ‘पूर्णबहादुरको सारंगी’ मात्र रहेका छन् । लगातार दर्शकको राम्रो साथ पाइरहेकाले यस चलचित्रको व्यापार अझै बढ्ने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ ।

साउन १ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले चौथो सातामा पनि आक्रामक व्यापारलाई निरन्तरता दिएको छ । ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ । शिक्षाको महत्त्वलाई मुख्य विषय बनाइएको यस चलचित्रले श्रीमान्–श्रीमतीको सम्बन्धसँग जोडिएको कथालाई प्रस्तुत गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार