काठमाडौं,
साउन १८ ।
नेपाली गीत-संगीतको प्रतिष्ठित राष्ट्रिय अवार्ड ‘जिनियस म्युजिक अवार्ड’को सातौं संस्करणका लागि आवेदन खुला गरिएको छ । आयोजक जिनियस डिजिटल म्युजिक प्रालिका अनुसार नेपालसहित विश्वभर रहेका नेपाली कलाकार, सर्जक तथा संगीतकर्मीहरूले www.geniusmusic.com.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण तथा प्रवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल नारासहित आयोजना हुन लागेको अवार्ड कार्यक्रमको उद्देश्य नेपाली गीत-संगीतको संरक्षण, प्रवर्द्धन र अन्तर्राष्ट्रियकरण गर्नुका साथै नेपालको कला, संस्कृति तथा पर्यटनलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ ।
यस वर्षको सातौं जिनियस म्युजिक अवार्ड-२०८२ अन्तर्गत वर्षभरि सार्वजनिक भएका उत्कृष्ट नेपाली गीत-संगीतलाई विभिन्न विधामा अवार्ड प्रदान गरिने जनाइएको छ । साथै कला, पर्यटन, सामाजिक सेवा, व्यवसाय तथा अन्य विविध क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई ‘जिनियस अचिभमेन्ट अवार्ड-२०२६’ मार्फत विशेष सम्मान गरिने कार्यक्रम रहेको छ ।
आयोजकका अनुसार अवार्ड समारोहमा चर्चित गायक-गायिका तथा कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित आकर्षक कार्यक्रम तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहनेछ ।
जिनियस डिजिटल म्युजिक प्रालिले सम्पूर्ण कलाकार, सर्जक, संगीतकर्मी तथा सम्बन्धित सबैलाई समयमै www.geniusmusic.com.npमा गई आफ्नो आवेदन दर्ता गरी सातौं जिनियस म्युजिक अवार्ड-२०८२ मा सहभागी हुन आग्रह गरेको छ ।







