‘पच्चीस पच्चीस’ निर्माण घोषणा

काठमाडौं,
साउन १८ ।

चलचित्र ‘पच्चीस पच्चीस’ को आधिकारिक निर्माण घोषणा गरिएको छ । सोमबार काठमाडौंमा आयोजित विशेष समारोहमा कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यस चलचित्रको शीर्षक, निर्माण टोली तथा मुख्य कलाकारहरूको औपचारिक परिचय गराइएको हो ।

चलचित्रको निर्देशन रंग पत्रकारिता र फिल्म निर्देशनमा लामो अनुभव हासिल गर्नुभएका सुब्रत आचार्यले गर्नुहुनेछ । यसअघि ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरिसक्नुभएका आचार्यका लागि यो तेस्रो निर्देशकीय चलचित्र हुनेछ ।

चलचित्रका निर्माता कर्ण कार्की हुनुहुन्छ । बैंकिङ, क्याफे, सलुन तथा एक्सपोर्ट-इम्पोर्टलगायत विभिन्न व्यवसायमा संलग्न कार्कीले गत वर्ष ‘होस्टेल-३’ मार्फत चलचित्र निर्माणमा प्रवेश गर्नुभएको थियो । ‘पच्चीस पच्चीस’ उहाँको दोस्रो चलचित्र हो ।

चलचित्रमा अजय न्यौपाने र धीरेन्द्र लाल कर्ण सह-निर्माता हुनुहुन्छ भने दीपेन्द्र गौतम ‘माइकल’ कार्यकारी निर्माता रहनुभएको छ । प्रकाश कँडेल र मनिषा राउत लाइन प्रोड्युसरको भूमिकामा हुनुहुन्छ ।

मुख्य भूमिकामा अभिषेक खड्का र खुशी कार्की देखिनुहुनेछ। उहाँहरूसँगै अभिनेता प्रमोद अग्रहरी पनि महत्वपूर्ण भूमिकामा रहनुहुने छ । चलचित्रको अर्को आकर्षण दार्जिलिङका चर्चित कमेडियन तथा कन्टेन्ट क्रिएटर ‘भक्ते भाइ’ (अमित सुब्बा) को नेपाली चलचित्र डेब्यु हो ।

द राइजिङ ब्वाइज इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत ठेट शैलीका हास्य सामग्री प्रस्तुत गर्दै नेपाल, दार्जिलिङ र सिक्किमका दर्शकमाझ लोकप्रिय बन्नुभएका अमित पहिलोपटक नेपाली रजतपटमा देखिन लाग्नु भएको हो ।

चलचित्रको कथा सुब्रत आचार्य र जयाले तयार गर्नुभएको हो भने पटकथा सुशील देवकोटाले लेख्नुभएको छ । हरि हुमागाईं छायांकन निर्देशक रहनेछन् भने पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनले गर्नुहुनेछ ।

निर्माण पक्षका अनुसार चलचित्र छिट्टै छायांकनमा जानेछ । सामाजिक-कमेडी कथामा आधारित चलचित्रले मनोरञ्जनसँगै नेपाली समाजको स्वाद झल्काउने कथा प्रस्तुत गर्ने दाबी गरिएको छ । निर्देशक आचार्यले चलचित्र नेपाली माटो र परिवेश सुहाउँदो हुने बताउनुभयो भने कलाकारहरूले पनि परियोजनाप्रति उत्साह व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार