काठमाडौं,
साउन १७ ।
मिस नेपाल-२०२६ को ताज दीपमाला ढकालले जित्नुभएको छ । दी हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा २३ जनालाई पछि पार्दै उहाँले ताज पहिरिनुभएको हो । प्रतियोगितामा कसिस सुब्बाले मिस नेपाल कस्मो-२०२६ को उपाधि जित्नुभयो भने आर्या निशात मिस नेपाल इन्टरनेसनल, २०२६ घोषित हुनुभयो ।
ढकाल विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरकमा इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत हुनुहुन्छ । उहाँ ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक (होस्ट) तथा म्याराथन धाविका पनि हुनुहुन्छ । हाल उहाँ नेपाल क्यान्सर अस्पतालको गुडविल एम्बास्डरका रूपमा सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ ।
मिस वर्ल्डको अन्तर्राष्ट्रिय मञ्चमार्फत क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने आफ्नो अभियानलाई विश्वस्तरमा पुर्याउने लक्ष्य रहेको उहाँ बताउनुहुन्छ । ढकाल परिवार र मिस नेपालबीच विशेष सम्बन्ध छ । उहाँकी आमाले सन् १९९४ मा आयोजित पहिलो मिस नेपाल प्रतियोगितामा सहभागिता जनाउनुभएको थियो ।







