नेपाल प्रहरी कलाकार संघको तेस्रो वार्षिकोत्सवमा स्रष्टा सम्मान

काठमाडौं,
साउन १४ ।

नेपाल प्रहरी कलाकार संघले गुरु पूर्णिमाको अवसर पारेर आफ्नो तेस्रो वार्षिकोत्सवका क्रममा विभिन्न विधाका पाँच जना स्रष्टालाई सम्मान गरेको छ । नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आयोजित कार्यक्रममा चेतन कार्की गीति वाङ्गमय सम्मान-२०८३ वरिष्ठ गीतकार राजेन्द्र थापालाई, राजपाल थापा नृत्य सम्मान–२०८३ नृत्याङ्गना विमला श्रेष्ठ क्षेत्रीलाई, गोपाल योञ्जन सङ्गीत साधना सम्मान-२०८३ गीतकार डा. किरण प्रधानलाई तथा हाडा एन्ड पाल हास्य वाङ्गमय सम्मान-२०८३ वरिष्ठ हास्य कलाकार सन्तोष पन्तलाई प्रदान गरिएको थियो ।

यसै अवसरमा पहिलो पटक स्थापना गरिएको पूर्व प्रहरी कलाकार साधना सम्मान-२०८३ पूर्व प्रहरी प्रमुख तथा कलाकार अर्जुजङ्ग शाहीलाई प्रदान गरिएको थियो । सम्मानित सबै व्यक्तित्वलाई दोसल्ला, फूल तथा दुबोको माला, बुके, सम्मानपत्र र नगदसहित सम्मान गरिएको संघले जनाएको छ ।

कार्यक्रममा संघकी वरिष्ठ सल्लाहकार तथा कलाकार मिथिला शर्माले चार स्रष्टाका नाममा स्थापित सम्मानहरूको उद्देश्यबारे जानकारी दिँदै सम्मानित व्यक्तित्वहरूको योगदानमाथि प्रकाश पार्नुभएको थियो । उहाँले इतिहास रच्ने स्रष्टाहरूले आर्थिक लाभभन्दा भावनात्मक समर्पणलाई प्राथमिकता दिँदै समाजमा गहिरो प्रभाव छाडेको उल्लेख गर्नुभयो ।

संघका संरक्षक क्षेत्रबहादुर गुरुङले स्वागत मन्तव्य राख्दै कला, साहित्य र संस्कृतिमा ऐतिहासिक योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सांगीतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो । संघका कोषाध्यक्ष गणेश गोपालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रिय गान तथा गुरु वन्दनाबाट सुरु भएको कार्यक्रममा कर्तव्यपालनाका क्रममा वीरगति प्राप्त गरेका ज्ञात-अज्ञात शहीदहरूको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो ।

प्रहरी परिवार, कलाकार तथा साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रम नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार