‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
साउन ५ ।

चलचित्र ‘चमेलीको पोइ’ को शीर्ष गीत ‘ओइ ओइ चमेली, तिम्रा शेरे खोइ…’ सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । एभरेष्ट सूर्य बोहरा निर्देशित यस चलचित्रको गीतमा राजनराज शिवाकोटी र इन्दिरा जोशीको स्वर, निर्देशक बोहराको शब्द तथा राजनराज शिवाकोटीको संगीत छ । कबिराज गहतराजको कोरियोग्राफी रहेको गीतमा नारायण त्रिपाठी, सुरक्षा पन्त र विल्सन विक्रम राई फिचर्ड हुनुहुन्छ ।

कार्यक्रममा गायक तथा संगीतकार राजनराज शिवाकोटीले लोकआधुनिक शैलीको उक्त गीत दर्शक तथा स्रोतामाझ लोकप्रिय हुने विश्वास व्यक्त गर्नुभयो । केही समय नयाँ संगीत सिर्जनाबाट विश्राम लिए पनि अहिले पुनः सक्रिय भएको उहाँको भनाइ थियो ।

अभिनेत्री सुरक्षा पन्तले ‘चमेलीको पोइ’ आफ्ना लागि विशेष चलचित्र भएको उल्लेख गर्दै यसबाट धेरै अपेक्षा राखेको सुनाउनुभयो । निर्देशक बोहरासँग यसअघि ‘भैरे’मा सहकार्य गरेको स्मरण गर्दै उहाँले कमेडी र यथार्थमा आधारित कथावस्तुमा आधारित चलचित्रमा शीर्ष भूमिकामा अभिनय गर्न पाउँदा उत्साहित रहेको बताउनुभयो ।

अभिनेता मुकुन भुसालले सुरक्षा पन्तसँग अभिनय गर्ने इच्छा यस चलचित्रमार्फत पूरा भएको बताउनुभयो । केही निर्देशकबाट प्रस्ताव आए पनि यसअघि सहकार्य गर्ने अवसर नमिलेको उहाँको भनाइ थियो ।

निर्देशक एभरेष्ट सूर्य बोहराले ‘ओइ ओइ चमेली’ गीतलाई आफ्नो चर्चित गीत ‘म त मर्छु कि क्या हो ठूली’ सरह दर्शकले मन पराउने विश्वास व्यक्त गर्नुभयो । निर्माता रामनारायण उपाध्याय र निर्मात्री सुनीता सापकोटाले चलचित्रप्रति आशावादी रहेको बताउँदै निर्माणका सबै पक्षमा विशेष ध्यान दिइएको बताउनुभयो । उपाध्यायका अनुसार चलचित्रको अमेरिकामा विशेष प्रदर्शन भइरहेको छ र त्यहाँबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । उहाँले ‘चमेलीको पोइ’ आफ्नो पहिलो निर्माण भए पनि आगामी दिनमा पनि निरन्तर चलचित्र निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो ।

पोस्टर सार्वजनिक भएसँगै चर्चामा रहेको यस चलचित्रबाट करिब डेढ दशकपछि चर्चित हास्य अभिनेता नारायण त्रिपाठी (प्रेमचरो) ले नेपाली रजतपटमा पुनरागमन गर्नुभएको छ । चलचित्रमा मुकुन भुसाल, सुरक्षा पन्त, विल्सन विक्रम राई, उमेश राई, रवीन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बविन राई, खड्गबहादुर पुन, रजनी गुरुङ, मीना आरएल शाही, रितु मल्ल ठकुरी, तारा शर्मा, सुनीता सापकोटा, विशाल पाण्डे, श्रेया नारायण, धनलक्ष्मी बोहरा, अनुष्का नारायण लगायतका कलाकारको अभिनय छ ।

धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा शेरबहादुर तामाङको छायांकन रहेको छ । सुनिता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा उदय विक्रम राणा, रितु मल्ल कुँवर, सुमित्रा थापा र कपिल आचार्य हुनुहुन्छ । सहनिर्मातामा नारायण त्रिपाठी, यमप्रसाद ओली, सुदीप कुँवर र प्रदीपकुमार सापकोटा रहनुभएको छ । धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर रहेको यस चलचित्रमा कुमार महर्जनको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन रहेको छ भने आरआर फिल्मस्ले वितरण गर्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार