काठमाडौं,
साउन ४ ।
एभरेष्ट नेपाल कल्चरल ग्रुप (ईएनसीजी) फ्रान्सको सैंट-मैक्सनमा आयोजित ३८औं अन्तर्राष्ट्रिय बाल सांस्कृतिक मेलामा सहभागी भएर स्वदेश फर्किएको छ । संस्थापक अध्यक्ष डा.आरसी कोइराला ‘रामचन्द्र’को नेतृत्वमा गएको टोलीले मेलामा नेपाली लोक संस्कृतिमा आधारित विभिन्न नृत्य प्रस्तुत गरेको थियो ।
टोलीमा बागमती बोर्डिङ उच्च माध्यमिक विद्यालय, सुकेधाराका प्रधानाध्यापक श्यामदत्त अधिकारीको संयोजनमा विद्यालयका विद्यार्थी सहभागी थिए । उनीहरूले मारुनी, कौरा, गर्रा, यति, कुमारी, झ्याउरे र थाली नृत्य प्रस्तुत गरेका थिए । नृत्यको निर्देशन सपना महर्जनले गर्नुभएको थियो ।
सांस्कृतिक कार्यक्रमसँगै विद्यार्थीहरूले मेला अवधिभर स्थानीय विद्यालयहरूको अवलोकन गर्नुका साथै विभिन्न देशका सहभागी विद्यार्थीहरूसँग शैक्षिक तथा सांस्कृतिक आदान-प्रदान गरेका थिए । भ्रमणको व्यवस्थापन एभरेष्ट नेपाल कल्चरल ग्रुपकी निर्देशक सीतल आचार्यले गर्नुभएको थियो ।






