✍️ अर्जुन प्रधान
काठमाडौं,
साउन २ ।
विवादित बनेको ‘मास्टर्नी’ को प्रमोसनल गीत युट्युबबाट हटाइएको छ । गीतमा प्रयोग भएका केही शब्द र दृश्यले शिक्षक पेसामा आबद्धहरूको गरिमामा आँच पुगेको भन्दै चौतर्फी आलोचना भएपछि गीत हटाइएको हो ।
अभिनेत्री प्रियंका कार्कीले माफी माग्दै युट्युब र सामाजिक सञ्जाल प्लेटफर्महरूबाट गीतहरू हटाइएको जानकारी गराएकी छन् ।
‘हाम्रो प्रस्तुतिले अन्जानमै तपाईंहरूको भावनामा पर्न गएको चोटप्रति म व्यक्तिगत रूपमा र मेरो सम्पूर्ण टिमका तर्फबाट गल्ती महसुस गर्दै हृदयदेखि नै क्षमायाचना गर्दछु,’ उनले फेसबुकमा लेखेकी छन्, ‘ मैले पहिलोपटक चलचित्र निर्माणको यात्रा थालनी गर्दा कसैको आस्था, पेसा वा सम्मानमा ठेस पुर्याउने कल्पनासम्म गरेकी थिइनँ र भविष्यमा पनि गर्नेछैन ।’
उक्त गीत ‘दुर्गेश थापा’ युट्युब च्यानलबाट आधिकारिकरूपमा सधैँका लागि हटाएको पनि उनले जानकारी गराएकी छन् । यस्तै, दुर्गेश थापाले पनि विज्ञप्ति जारी गर्दै माफी मागेका छन् । यो गीतका शब्द र प्रस्तुतिकरणलाई लिएर व्यापक आलोचना भएको थियो ।
प्रियंकाको होम प्रोडक्सनमा बनेको चलचित्र ‘मास्टर्नी’ भदौ ५ गतेदेखि प्रदर्शन तयारीमा छ । ‘मास्टर्नी’ गीत गत मंगलबार सार्वजनिक भएको थियो । सार्वजनिक भएसँगै गीतको शब्द र भिडियोको प्रस्तुतिलाई लिएर निकै आलोचना भएको थियो । युट्युबमा आएका हजारौं टिप्पणीमा शिक्षकजस्तो सम्मानित पेशालाई जोडेर यस्तो गीत बनाइनु अनुचित भएको प्रतिक्रिया आएका थिए ।
नेपाल शिक्षक महासंघले शुक्रबार मात्रै गीतप्रति आपत्ति जनाउँदै यसको प्रचारप्रसार तत्काल रोक्न माग गरेको थियो ।






