काठमाडौं,
असार २८ ।
चन्द्रमाया जुग्जालीको नयाँ मौलिक कौरा गीत ‘मन पर्ने मायालु’ सार्वजनिक गरिएको छ । गीतको शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ लोकगायक खड्ग गर्बुजाले विमोचन गर्नुभएको हो ।
सागर विरहीको शब्द, भाका तथा संगीत संयोजन रहेको गीतमा सागर विरही, दीपिका बयम्बु मगर र चन्द्रमाया जुग्जालीको स्वर रहेको छ । गंगा थापा मगर, दुर्गा गापा र राम छन्त्यालले कोरस गायनमा साथ दिनुभएको छ ।
म्याग्दीको बिम गाउँको परिवेशलाई केन्द्रमा राखेर प्रेमभाव प्रस्तुत गरिएको गीतको भिडियोमा मनोज गुरुङ र लक्ष्मी थापा मगरको अभिनय छ । भिडियोको निर्देशन सागर विरहीले गर्नुभएको हो भने सम्पादन अमृत चापागाईंले गर्नुभएको छ । राजाराम सिंम्खडाको कोरियोग्राफी, सुरेश श्रेष्ठको सिनेमेटोग्राफी तथा निर्मला आचार्यको मेकअप रहेको भिडियो गोलढुंगा स्थित उज्वल कला कुटीमा छायांकन गरिएको हो । गीत चन्द्रमाया जुग्जालीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
विमोचन कार्यक्रममा बोल्दै सर्जक सागर विरहीले म्याग्दीसँग जोडिएको मौलिक कौराहा सिर्जना गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले मौलिक सिर्जनाले लोकसंस्कृतिको संरक्षणसँगै नयाँ पुस्तालाई पनि आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा म्याग्दी समाजसँग आबद्ध विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
दुई दशकभन्दा बढी समयदेखि नेपाली लोकसंगीत क्षेत्रमा सक्रिय सागर विरही सिर्जना, गायन, संगीत संयोजन, निर्देशन र अभिनयमा समान रूपमा सक्रिय सर्जकका रूपमा परिचित हुनुहुन्छ । यसअघि चन्द्रमाया जुग्जालीका ‘ज्यानकै बाजी भो’, ‘कान्छी माया’, ‘आमा’, ‘तगारो’ र ‘सरर रेलैमा’ लगायतका गीतले पनि दर्शक-श्रोतामाझ राम्रो चर्चा बटुलिसकेका छन् ।






